ललितानिवास प्रकरण अपडेट : मीनबहादुर गुरुङ र सुधीर शाहसहित ७ जना पक्राउ

असार १२, २०८० |कान्तिपुर टीभी संवाददाता
ललितानिवास प्रकरण अपडेट : मीनबहादुर गुरुङ र सुधीर शाहसहित ७ जना पक्राउ

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित ७ जना पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई उनको निवास नक्सालबाटै पक्राउ गरेको हो । गुरुङसँगै शाह र अन्य पाँच जनासहित ७ जनालाई आज (मंगलबार) एकै दिन पक्राउ गरेको हो । शाह तत्कालीन अवस्थामा जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।

गुरुङ नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट भाटभटेनीका सञ्चालक हुन् ।

सरकारी जग्गा हडप्नकै लागि गुरुङले भूमाफियाहरुसँग सम्पर्क बढाएर ललितानिवासको जमिन सस्तोमा किनेका थिए । गुरुङले त्यसलाई प्लटिङ गरी व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।

यसैगरी सीआईबीले सुधीर शाहसहित भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख (सहसचिव) कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, भुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

थप समाचार...

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

मीनबहादुर गुरुङ पक्राउलगत्तै थप चार जना प्रहरी नियन्त्रणमा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement