काठमाडौंमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक

असार ४, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका हलमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ बाट आपत्तिजनक संवाद नहटाइएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंमा हिन्दी फिल्मको प्रदर्शन गर्न नदिने घोषणा गरेका हुन् ।

फिल्मको मूल भागबाटै ‘जानकी भारतकी छोरी हुन्’ विवादित संवाद नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न रोक लगाइएपछि फिल्म हलले पनि आजदेखि हिन्दी फिल्मको प्रदर्शन स्थगित गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सबै हलले आज हिन्दी फिल्म आदिपुरुषको प्रदर्शन हटाएका छन् ।

मेयर शाहले उक्त संवादमा आपत्ति जनाउँदै चलचित्रको मूल भागबाटै त्यो सन्देश हटाउन चेतावनी दिएका थिए । शुक्रबारदेखि प्रदर्शनमा आएको आदिपुरुषबाट उक्त संवाद नहटाई ‘म्यूट’ गरेर नेपालका चलचित्र हलमा देखाइएको थियो ।

निर्माण टोलीले आदिपुरुषबाट उक्त सन्देश हटाउनुको सट्टा उल्टै यस फिल्मका संवाद लेखक मनोज मुन्तशिरले भारतीय सञ्चार माध्यममार्फत ‘नेपाल भारतकै अंश थियो’ भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् । चलचित्र आदिपुरुषले यतिबेला नेपालमा मात्र नभइ भारतमा पनि अनेकखाले आलोचना खेपिरहेको छ ।

लेखक मुन्तशिरको अभिव्यक्तिले थप विवाद उत्पन्न भएकै बेला मेयर शाहले ‘आजदेखि आदिपुरुषको मूल भागबाट उक्त आपत्तिजनक अंश नहटाएसम्म’ काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेका हुन् ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि चलचित्र आदिपुरुषका विषयमा विभिन्न सञ्चारमाध्यमबाट जनाइएका आपत्तिका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार मन्त्रालयद्वारा जारी गरिएको प्र‍ेस विज्ञप्तिमा भनिएको छ- सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नु पूर्वनै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाइएका आपत्तिका विषयहरूमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement