प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा ११ उजुरी

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा ११ उजुरी

काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको हो । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जेठ २६ गतेसम्म थप उजुरी आउन सक्ने समितिले जनाएको छ । तर, कस्ता उजुरी परेका छन् भन्ने समितिले सार्वजनिक गरेको छैन । उजुरी पहिचान गरेपछि सदस्यहरूले सुनुवाइका क्रममा कार्कीसँग सोध्न सक्ने छन् ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा  सिफारिस गरेको हो । यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा सिफारिस गरिँदा संसदीय सुनवाइ समितिमा ९ वटा उजुरी परेका थिए । 

राणाविरुद्ध मुद्दा प्रभावित गरेबापत घुस लिएको जस्ता गम्भीर उजुरी पनि परेको थियो । त्यसअघिका प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उनको कार्यक्षमतामाथि नै प्रश्न उठाउँदै ५ वटा उजुरी परेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.