गर्मीमा किन हुन्छ सवारीसाधनको अत्यधिक दुर्घटना ?

जेष्ठ २३, २०८० |पोषनाथ अधिकारी
गर्मीमा किन हुन्छ सवारीसाधनको अत्यधिक दुर्घटना ?

धादिङ । सुन्दा अपत्यारिलो लाग्न सक्छ- गर्मीयाममा सवारी दुर्घटना बढी हुन्छ । तर गर्मीसँगै सडकमा हुने धुलो, चालकमा बढ्ने आलस्य र गाडी तात्ने समस्याले दुर्घटनाको जोखिम हुने गरेको छ । अघिल्लो वर्ष गर्मी र जाडो महिनाको तथ्यांक हेर्दा पनि यही कुरालाई पुष्टि गर्छ ।

गत शुक्रबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीहरु सवार गाडी सुनकोशी नदीमा खस्दा एकजना अझै बेपत्ता छन् । अघिल्लो तीन साताको तथ्यांकलाई हेर्ने हो भने देशभर १७ सय ९६ सवारीसाधन दुर्घटना भए जसमा १२७ जनाले ज्यान गुमाएका छन् भने १८ सय ६७ जना घाइते भए । सवारी दुर्घटनाका थुप्रै कारणमध्ये एउटा कारण हो अत्यधिक गर्मी । त्यसो त अघिल्लो वर्ष चैतदेखि भदौसम्ममा देशभर १६ हजार ४ सय ८६ सवारी दुर्घटना भएका थिए भने असोजदेखि फागुनसम्ममा भएको सवारी दुर्घटनाको संख्या १८ हजार १७ छ ।

चैतदेखि भदौसम्मलाई सामान्यत: गर्मीयाम मानिन्छ । पछिल्लो एकसातामा देशभरको तापक्रम बढेको छ । मधेश तराईमा तापक्रम ४१ डिग्री सेन्टिग्रेटसम्म पुगेको छ भने पहाडी जिल्लाहरुमा पनि ३३ बाट झरेको छैन । मौसममा आएको परिवर्तनको प्रभाव सवारीसाधन प्रयोगकर्तालाई प्रत्यक्ष पर्ने गरेको हुन्छ ।

धेरै गर्मी भएपछि गाडी चलाउँदा चक्कर आउलाजस्तो हुने सार्वजनिक बसका चालक नरबहादुर वलीको भनाइ छ । ‘गाडी हिट भएर बस्ने अवस्था पनि हुँदैन,’ उनले भने ।

यस्तै ट्रक चालक सुशान्त लामा पनि गर्मीले निद्रा लाग्ने भएकाले पनि दुर्घटनाको सम्भावना बढी हुने बताउँछन् । विश्राम गर्दै आउनुपर्ने अवस्था रहेको उनले सुझाए ।

एकातिर आफैंमा जोखिमयुक्त सडक अर्कोतर्फ निर्माणका कारण राजमार्ग क्षेत्रमै धुलोका कारण झ्याल खोल्न नसकिने अवस्था छ । पंखा र एसीविनाका सवारीसाधानले यात्रुको यात्रा कस्टकर हुन्छ । त्यसो त अधिक तातेको राजमार्गमा चालक निदाउने समस्या पनि छ । लामो दूरीसम्म लगातार एकै व्यक्तिले सवारीसाधन चलाउँदा तापक्रमकै कारण सवारीमा समस्या आएर दुर्घटनाको जोखिम समेत बढ्छ ।

‘मौसम गर्मी छ । गाडी कुदाउँदा इन्जिन पनि हिट भइरहेको हुन्छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख उद्धव पोखरेलले कान्तिपुर टेलिभिजनसँग भने, ‘ठाउँठाउँमा पुगेर रेस्ट गराउने/रिफ्रेस गराउने गर्नुपर्छ । यस्तो गरे दुर्घटना कम हुन सक्छ ।’

यस्तै गर्मीमा मानिसको शरीरमा पानीको मात्रा कम हुँदै जाँदा रिँगटा लाग्ने, कमजोर हुने अझ सवारीसाधन चलाउँदा एकदमै ध्यान केन्द्रित गर्नुपर्ने भएकाले दुर्घटनाको जोखिम धेरै हुने टेकु अस्पतालमा कार्यरत चिकित्सक डा. शेरबहादुर पुनको भनाइ छ ।

थाकेका चालकलाई फ्रेस हुन राजमार्ग क्षेत्रमा पर्याप्त रिफ्रेस सेन्टरको स्थापना गर्ने र गर्मीको समयमा सवारीसाधन प्रयोग गर्दा आफूसँगै चालकले सवारीलाई पनि निश्चित दूरी पार गरी आराम गराउन जरुरी छ । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।