काठमाडौंका नेवार समुदायले मनाए पाँहा चह्रे (फोटो फिचर)

चैत्र ८, २०७९ |राजेन्द्र महर्जन
काठमाडौंका नेवार समुदायले मनाए पाँहा चह्रे (फोटो फिचर)

काठमाडौं । काठमाडौंका नेवार समुदायले आज तीन अजिमा देवीको खटजात्रा गरी पाँहा चह्रे मनाएका छन् । काठमाडौंको तीन छुट्टाछुट्टै देवगृहबाट ल्याएको अजिमा देवीलाई असनमा भेला गराइ मनाइने जात्रालाई दिदीबहिनीको मिलनको रूपमा लिइने गरिन्छ । 

काठमाडौंको व्यस्त सहर असनमा यट्खाको कंगेश्वरी अजिमा र टेबहालको लुमधि भद्रकाली र वटुको भद्रकाली अजिमालाई खटमा बोकेर ल्याइन्छ । परम्परागत बाजा र लावालस्करका साथ आ-आफ्नो देवघरबाट ल्याइएको तीनवटा छुट्टाछुट्टै अजिमाको खट जात्रा असनमा पुग्दा निकै उल्लासमय छायो । यसलाई तीन अजिमा देवी अर्थात् तीन दिदीबहिनीको मिलनका रूपमा लिइन्छ । जात्रामा रातो, नीलो र पहेँलो रंगको टोपी र टिसर्टले सजिएका जात्रालुको भिडले थप उल्लास छाउँछ ।

असनमा कंग अजिमाको खटले भद्रकालीको खटलाई तीन पटक परिक्रममा गराइने चलन छ । भद्रकाली र अजिमा देव खलकले बोकेर ल्याएको चिराग बत्ती साटासाट गर्ने चलनलाई आपसमा आदर सम्मानका रूपमा लिने गरिन्छ ।

जात्रामा स्थानीयले घर-घरबाट प्रसादका रूपमा देवतालाई चढाइएको चटामरी र मिठाई प्राप्त गर्न सके शुभ हुने जनविश्वास छ । त्यसपछि तीनै देवीका खट बोकेर आ-आफ्नो टोलमा लगी जात्रा गर्ने चलन छ ।

लिच्छविकालमा काठमाडौंको विभिन्न स्थानमा भद्रकाली अजिमाहरु स्थापना गरी मनाइने चलन अहिले पनि कायमै छ ।  

अजिमाको खट जात्रालाई तीन देवीको मिलनले प्रेम र सद्भाव बढ्ने धार्मिक मान्यता छ ।


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।