प्रिमियर स्टिलको तेल ट्यांकीमा आगलागी, ४ घण्टामा पनि नियन्त्रणमा आएन

चैत्र ५, २०७९ |अर्जुन सुवेदी
प्रिमियर स्टिलको तेल ट्यांकीमा आगलागी, ४ घण्टामा पनि नियन्त्रणमा आएन

सुनसरी । सुनसरी मोरङ औद्योगिक करिडरअन्तर्गतको प्रिमियर स्टिल उद्योगमा आगलागी भएको छ ।

दुहबी नगरपालिका २, तुथाहामा रहेका उद्योगमा आज बिहान साढे ११ बजेदेखि लागेको आगो अहिले साढे ३ बज्दासम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणमा लिन आठवटा दमकलको सहयोगमा आगो निभाउने प्रयास ४ घण्टादेखि जारी छ । दुहबी, इटहरी, धरान, इनरुवा, सुन्दरहरैंचालगायत पालिकाका दमकलहरुले निरन्तर आगो निभाउने प्रयास गरिरहे पनि ट्यांकीमा लागेको आगो केही कम हुन सकेको छैन ।

तेल ट्यांकी भएका कारण आगो निभाउन समस्या भइरहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बृद्धिराम चौलागाईले जानकारी दिए । उद्योगका दुईवटा ट्यांकीमध्ये एउटामा मात्र आगो लागेको छ । आगो लागेको ट्यांकी केही पर रहेका कारण उद्योगका अन्य ट्यांकी र मेसिनमा आगो सर्न नपाएको चौलागाईले जानकारी दिए । आगो अन्य पूर्वाधारमा सल्किन नदिने प्रयास भइरहेको उनले जानकारी दिए ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।