सशस्त्रका ५० डीएसपी र १३३ प्रहरी निरीक्षकको काज सरुवा

चैत्र ४, २०७९
सशस्त्रका ५० डीएसपी र १३३ प्रहरी निरीक्षकको काज सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बलले एकैपटक ५० प्रहरी नायव उपरीक्षक (डीएसपी) र १३३ प्रहरी निरीक्षकको काज सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार तत्कालका लागि काजमा सुरुवा गर्ने निर्णय गरेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवाका लागि निर्वाचन आयोगसँग अनुमति लिएको थियो ।

शुक्रबारको निर्णयानुसार अर्को आदेश नभएसम्मको लागि सम्बन्धित कार्यालयहरुमा कामकाज गर्ने गरी जिम्मेवारी तोकी काज खटाइएको हुँदा खटाइएको कार्यालयमा अविलम्ब पठाई सोको जानकारी गराउन भनिएको छ।

हालसम्म कमाण्डको अवसर नपाएकाहरुलाई प्राथमिकतामा राख्दै सरुवा गरिएको प्रवक्ता डीआईजी पुरुषोत्तम थापाको भनाइ छ ।

सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीसहित उनीहरुलाई खटाइएको सशस्त्रले जनाएको छ ।