काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मेघगर्जनसहित वर्षा

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मेघगर्जनसहित वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ । अपराह्नपछि काठमाडौंमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ । 

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले कान्तिपुर टेलिभिजनलाई जानकारी दिइन् ।

काठमाडौंमा क्षणिक वर्षा हुने उनले जानकारी दिइन् । अहिले भइरहेको वर्षा करिब एक घण्टापछि रोकिने र यो प्रक्रिया भोलि र पर्सि पनि दोहोरिने उनको भनाइ छ ।

अहिले गण्डकी, लम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, वाग्मती, मधेस र कोशी प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको मौसमविद मानन्धरले जानकारी दिइन् ।

प्रि-मनसुन सुरु भएकाले देशका विभिन्न भू–भागमा वर्षा भएको मौसमविदको भनाइ छ । मार्च, अप्रिल र मेसम्म तीन महिनाको अवधिलाई प्रि–मनसुन चल्ने समय मानिन्छ । प्रि–मनसुनमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविदको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.