पाल्पा । झन्डै २ सय १६ वर्षअघि अमरसिंह थापाले काठमाडौका नेवार कालिगड झिकाएर पाल्पाको तानसेनमा बनाएको कलात्मक अमरनारायण मन्दिरको अहिले जीर्णोद्धार गरिँदै छ । तर पुरातात्त्विक महत्त्वका यस्ता मन्दिरको मर्मत सम्भारमा होसियारी नअपनाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
पाल्पाको अमरनारायण मन्दिरको पहिलो तला खसेपछि पुरातत्त्व विभागले मर्मत सम्भार गरिरहेको छ । मन्दिरमा पित्तलको छाना लगाइएको छ भने टुँडाल लगायतका काम भइरहेको छ । यस मन्दिरमा पनि काठमाडौ कीर्तिपुरको उमा महेश्वरको मन्दिरमा जस्तै प्यागोडा शैलीको टुँडालको पुछारमा विभिन्न चित्रहरू कुँदिएका छन् । तर मर्मतका क्रममा भने लापरबाही भएको सरोकारवाला बताउँछन् ।
पित्तलको छाना लगाउने, छाना मर्मत र भुइँमा ढुंगा छाप्ने काम भइरहँदा निर्माण व्यवसायीले लापरबाही गरेको छ । मुख्य निर्माण व्यवसायीले काम नगर्ने र पेटी ठेकेदार राखेका कारण काममा लापरबाही बढी देखिएको हो । टुँडालहरू राख्ने, छाना छाउने र काठका सामग्री बनाउने क्रममा पनि लापरबाही भएको मन्दिरका पुजारीको आरोप छ ।
पित्तलको छाना छाउने काम सकिएको छ । टुँडालहरू राखिसकिएको छ । ढुंगा छाप्ने काम बाँकी छ । मन्दिर पुनर्निर्माण क्रममा भएका गल्ती कमजोरी नसुधारीकन निर्माण व्यवसायीले भुक्तानी नपाउने तानसेन नगरपालिकाले जनाएको छ ।
काठमाडौं पश्चिममा प्यागोडा शैलीमा बिरलै यस्ता मन्दिर भेटिन्छन् । पुरातात्त्विक, वास्तुकला र काष्ठकलाले भरिपूर्ण मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न स्थानीय सरोकारवालका साथै जनप्रतिनिधि गम्भीर बन्न आवश्यक छ ।