राष्ट्रपति भण्डारी भोजपुरमा, षडानन्द अधिकारीको सालिक अनावरण

माघ २५, २०७९ |दीपेन्द्र शाक्य
राष्ट्रपति भण्डारी भोजपुरमा, षडानन्द अधिकारीको सालिक अनावरण

संखुवासभा । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार भोजपुरको साल्पासिलिछो गाउँपालिकामा रहेको विदुषी योगमाया न्यौपानेको शालिक अनावरण गरेकी छन् । उनले पशुपतिधाम गौडेनीमा पूजा अर्चना पनि गरिन् । योगमाया स्मृति प्रतिष्ठानको अवलोकनसँगै उनले साल्पासिलिछो गाउँपालिका, योगमाया स्मृति प्रतिष्ठान र षडानन्द नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भइन् ।

उनले सामाजिक अभियन्ता महिला विद्युषी योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको भन्दै स्मरण गरिन् । गौडेनीमा योगमायाको शालिक अनावरण गर्दै उनले योगमाया आधारभूत विद्यालय स्थापना गरिने जानकारी पनि दिइन् ।

योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेसी र गौंडेनीको भ्रमणका लागि भोजपुर पुगेकी उनले उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्लामा षडानन्दको शालिक पनि अनावरण गरिन् ।

षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी भोजपुर पुगेकी हुन् । भोजपुर उनी जन्मिएको जिल्लासमेत हो ।

राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका १, मझुवाबेंसीमा रहेको योगमायाको समाधिस्थलको अवलोकन गरिन् । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योगमाया समाधिस्थल पार्कको शिलन्यास गरे ।

षडानन्द नगरपालिका ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म घडेरीमा बनाइएको अधिकारीको शालिक राष्ट्रपति भण्डारीले अनावरण गरेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिए । सोही क्रममा राष्ट्रपति भण्डारीले कैलाशडाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गरेकी थिइन् । 


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।