गाउँगाउँमा सडक पुग्दा खण्डहर बने कलात्मक धर्मशालाहरु (भिडियो रिपोर्ट)

माघ २५, २०७९ |वरुण पनेरू
गाउँगाउँमा सडक पुग्दा खण्डहर बने कलात्मक धर्मशालाहरु (भिडियो रिपोर्ट)

डडेलधुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दशक अघिसम्म सडकमार्ग थिएन । बझाङ्गदेखि डडेलधुरासम्मका मानिसहरु कञ्चनपुरको ब्रहृमदेवमा नुनदेखि सुन ल्याउन ओलर्नुपर्थ्यो त्यो पनि हप्तौ पैदल हिँडेर ।

उतिबेला पैदलयात्री हिँड्न डडेलधुराको तेलेको लेकको बाटो चल्तीमा थियो । तेलेको लेकमा पैदलयात्रीका लागि सयौँ धर्मशाला बनेका थिए तर अहिले ती सबै कलात्मक धर्मशालाहरु संरक्षण अभावमा खण्डहर बनेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरु सडक सञ्जालमा जोडिनुअघिसम्म नुनतेलको जोहो गर्न डडेलधुराको तेलेको लेकको बाटो हुँदै मलौटेहरु हिँड्थे । यस्ता यात्रीलाई बास बस्न सजिलो होस् भनेर यो लेकको बाटो आसपास कलात्मक शैलीमा धर्मशालाहरु बनाइएको थियो ।

कालान्तरमा जिल्ला जिल्लामा सडक पुगेपछि बजार पनि पहाडतिर सर्दै गयो । मलौटे हिँड्न छोडेपछि संरक्षण अभावमा अधिकांश धर्मशाला भत्किसकेका छन् भने बचेखुचेका पाटीपौवा पनि संरक्षण अभावमा जीर्ण बनेका छन् । बुढापाकाकाअनुसार त्यसबेला तेलेलेक क्षेत्रमा मात्रै एक सयभन्दा बढी धर्मशाला थिए ।

त्यसबेला सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश बासिन्दालाई दैनिक रासन होस् वा लत्ताकपडा जे खाँचो परे पनि त्यसको जोहो गर्न कञ्चपुरको ब्रहृमदेव झर्नुपर्थ्यो । तराई झर्ने र उक्लने यही मुख्य बाटो थियो । अहिले अधिकांश जिल्लाका सबै स्थानीय तहसम्मै सडक पुगेको छ ।

सडक बनेर यात्रु र रासनपानी ओसार्न बस-ट्रक चल्न थालेपछि भने मलौटे समयका बाटाघाटा र पाटीपौवालाई सबैले बिर्सिंदै गए ।

अहिले विकासको लहर गाउँगाउँमा पुगेको छ । सडक खनेर विकास गर्ने नाउँमा डोजर र एक्साभेटर चलाउँदा अधिकांश पुराना पाटीपौवा, चौतारा, फलैँचा, धर्मशालालगायतका स्थानीयपन झल्काउने मौलिक सम्पदाहरु मासिएका छन् । डडेलधुरामा मलौटेहरुको जुगमा बनेका यी धर्मशालाहरु संरक्षणको पर्खाइमा छन् ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।