पाकिस्तानका क्रिकेटर रिजवानले भेटे सन्दीप लामिछानेलाई

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानका क्रिकेटर रिजवानले भेटे सन्दीप लामिछानेलाई

काठमाडौं । पाकिस्तानका स्टार क्रिकेटर मोहम्मद रिजवानले नाबालिग बलात्कार आरोपित नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।

विकेट किपर तथा ब्याटर रिजवान हिजो (आइतबार) नेपाल आएका थिए । नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक रुपमा रिजवान नेपाल आउनेबारे थाहा नभएको अध्यक्ष चतुरबहादर चन्दले जानकारी दिए । तर मौखिक रुपमा भने सबैलाई जानकारी रहेको अर्का एक सदस्यको भनाइ छ । उनले राति ११ बजेतिर रिजवानले आफूलाई भेटेको र टिमका खेलाडीसँग मिल्छ भने भेट्न दिनु भनेको बताए ।

रिजवानले आज टिम बसेको होटलमा सन्दीपसहित राष्ट्रिय टिमका अन्य खेलाडीसंग अन्तरक्रिया गरेको बताइएको छ ।

सन्दीप विदेश जान नमिल्ने भएकाले रिजवान उनलाई भेट्न आएको अध्यक्षले जानकारी दिए । क्यानको पोखरामा बसेको कार्यसमिति बैठकले गत मंगलबार सन्दीपको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएको थियो ।

उनलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख धरौटीमा शसर्त रिहा गरेको थियो । यो आदेशविरुद्ध महान्याधिवक्ताको कार्यालयले थुनामै राखेर मुद्दा अघि बढाउन सर्वोच्चमा रिट निवेदन दिएको छ ।

धरौटीमा रिहा भएका सन्दीपले विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनुपर्ने छ । काठमाडौं छाड्ने र फर्किने मिति तथा आफू रहेको स्थानको नामसमेत उल्लेख गर्नु पर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.