विराटनगरमा जारी औद्योगिक प्रदर्शनीविरुद्ध उच्च अदालतमा रिट (भिडियो रिपोर्ट)

माघ २३, २०७९ |सुशीला पाठक
विराटनगरमा जारी औद्योगिक प्रदर्शनीविरुद्ध उच्च अदालतमा रिट (भिडियो रिपोर्ट)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा आयोजना गरेको औद्योगिक तथा कृषि प्रदर्शनीले सडक अवरोध गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट परेको छ । कम प्रयोग हुने भित्री सडक भएकाले सडक अवरोधले पार्ने कठिनाइभन्दा प्रदर्शनीले गर्ने फाइदा बढी हुने भन्दै आयोजक संस्थाले सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी लगाएको छ । माघ २९ गतेसम्म चल्ने प्रदर्शनीमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेसिनरी औजार, अटो मोबाइल, सेवा क्षेत्र, उपभोग्य वस्तुका गरी चार सय स्टल छन् ।

प्रदर्शनीमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, नवलपरासीलगायतका उद्योगी, व्यवसायीका साथै भारत, चीन, बंगलादेश र पाकिस्तानका व्यवसायीसमेत सहभागी छन् । प्रदर्शनीले सडक अवरूद्ध पारेको भन्दै उच्च अदालत विराटनगरमा सडक खोल्न माग राखी रिट परेको छ ।

आयोजकले भने आर्थिक मन्दीको समयमा अर्थतन्त्रलाई चलायमान बनाउन प्रदर्शनीको आयोजना गरिएकाले सानातिना कमी कमजोरीलाई छुट दिनुपर्ने जनाएको छ ।

यसैबीच सडक अवरूद्ध गर्दा आवागमनमा समस्या भएकोभन्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सडक खोल्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।

पहिले मेला लगाउँदा सडक अवरूद्ध हुने नभनेकाले आयोजकले यसतर्फ पनि ध्यान दिनु जरूरी छ । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।