धादिङ । धादिङको बुङचुङ र आसपासका क्षेत्रमा मध्य नेपालको भौगर्भिक अवस्था र चट्टानबारे अध्ययन गर्न बर्सेनि ठूलो सङ्ख्यामा विद्यार्थी तथा अध्ययनकर्ता पुग्ने गरेका छन् । सानो क्षेत्रफलमा थरिथरिका चट्टान भेटिने हुनाले भूगर्भविदहरू यस क्षेत्रलाई खुला संग्रहालयको रूपमा व्याख्या गर्दछन् ।
एकै उमेर समूहका यूवा युवती हातमा कलम र डायरी बोकेर सडक छेउछाउमा चट्टान नियालिरहेको भेटिनु धादिङ सिद्धलेकको परेवाटारदेखि बैरेनी-मलेखु आसपास क्षेत्रको आम दृष्य हो ।
इञ्जिनियरिङ र वातावरण विषयका अध्ययन गर्ने विद्यार्थीका लागि भौगर्भिक अध्ययनमा आवश्यक पर्ने आग्नेय, पत्रेदार र परिवर्तित चट्टानका पन्ध्रदेखि अठार प्रकार पाइने यस क्षेत्रमा वातावरण विज्ञान अध्ययन गर्ने विद्यार्थी हरेक वर्ष यहाँ आउने गरेका छन् ।
यस क्षेत्रमा भूगर्भशास्त्र पढाइ हुने त्रिभुवन विश्वविद्यालय, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाटसमेत विद्यार्थी प्रयोगात्मक कक्षा लिन आउँछन् ।
नेपालभर पाइने २ दर्जन चट्टानमध्ये धादिङको यस क्षेत्रमा छोटो दूरीमा दर्जनभन्दा बढी प्रकारका चट्टानको अध्ययन गर्न सकिने भएकाले विश्वविद्यालयहरूले विगत ३५ वर्षअघिदेखि यस क्षेत्रलाई अध्ययनको थलो बनाएका छन् ।
राजधानीबाट नजिकमा चट्टानको खुला संग्रहालयको रूपमा रहेको यो क्षेत्रले भू-गर्भ विज्ञान अध्ययनमा ठूलो सहयोग पुर्याउने हुनाले यसलाई सरकारले संरक्षित क्षेत्र घोषणा गरी स्वेछिक पर्यटनका लागि पहल गर्नु पर्ने विज्ञको सुझवा छ ।
वातावरणीय र भौगर्भिक विज्ञानका विद्यार्थीको अध्ययनमा महत्वपूर्ण मानिएको चट्टानको खूला प्रयोगशालाको रूपमा रहेको यो क्षेत्रमा अध्ययनका लागि उत्साही बनेर आएका विद्यार्थीहरू सडक सुरक्षा र प्रदूषणको कारण अध्ययन गर्न कठिन भएकोमा चिन्तित छन् ।
धादिङ क्षेत्रमा ५ अर्ब ६० करोड वर्ष पुराना चट्टानहरु रहेको अनुमान गरिएको छ । तर यस्तो ठाउँको संरक्षणमा कसैको चासो पुगेको छैन । यो क्षेत्रलाई भूगर्भ अध्ययनको खुला संग्रहालयको रूपमा संरक्षण र स्थापित गर्नसके विश्वभरको भूगर्भशास्त्रीहरुको गन्तव्य बन्नसक्ने थियो ।