सुरुङ निर्माण गर्न स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुँदै (भिडियो रिपोर्ट)

माघ २१, २०७९ |रमा दाहाल
सुरुङ निर्माण गर्न स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुँदै (भिडियो रिपोर्ट)

धुलिखेल । नेपालका अधिकांश ठूला विकास आयोजनामा अधिकांश उच्च प्राविधिक जनशक्ति विदेशी हुन्छन् । दाता राष्ट्र र निकायको सहयोगमा बन्ने त्यस्ता परियोजनको ठूलो हिस्सा यो जनशक्तिले आफ्नै देश लगिरहेको हुन्छ । अधिकांश जलविद्युत आयोजनाले निर्माण गर्ने सुरुङमा पनि विदेशी जनशक्ति नै बढी हुन्छन् । के सुरुङ निर्माणमा दखल राख्ने प्राविधिक जनशक्ति नेपालमा नभएकै हो त ?

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना होस् वा भेरी-बबई डाइभर्सन अथवा नौबिसे नागढुंगा सुरुङमार्ग यी सबै परियोजनाको सुरुङ खन्न आवश्यक उपकरण र उच्च प्राविधिक जनशक्ति विदेशी छन् । योजनाकारदेखि नीति निर्मातासम्म सबैले राष्ट्रिय महत्वका परियोजनाबारे चर्चा गर्दा यस्तो सीपयुक्त जनशक्ति स्वदेशमा नभएको चर्चा गर्छन् । तर काठमाडौं विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ विभागले बर्सेनि ६० जना टनेल इञ्जिनियर उत्पादन गरिरहेको भने कमैलाई मात्रै जानकारी छ ।

टनेल इञ्जिनियरिङका विद्यार्थीलाई पढाइका अतिरिक्त विश्वविद्यालय परिसरमै प्रशिक्षणसमेत दिइन्छ । प्रयोगात्मक अभ्यासबाट खारिएका इन्जिनियरहरू जस्तोसुकै भूगोलिक अवस्थिती भएको ठाउँमा सुरुङ बनाउनु पर्‍यो भने पनि सक्षम रहेको विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ विभागका प्रमुख दाबी गर्छन् ।

नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ढाकेको छ । भिराला र उच्च पहाड धेरै भएको भौगोलिक वास्तविकतालाई मध्यनजर गर्दा जमिनको सतहमाथि बनेको सडकभन्दा सुरुङमार्ग नै उपयोगी हुने पूर्वाधार विज्ञहरु बताउँछन् । सुरुङमार्ग निर्माण गर्दा प्रारम्भिक खर्च केही बढी आउने भए पनि कालान्तरमा यसको लागत कम पर्ने उनीहरुको दाबी छ । वातावरणीय दृष्टिले पनि भिरालो पहाडमा सुरुङमार्ग नै राम्रो हुने विज्ञको सुझाव छ ।

सुरुङ खन्ने काममा सीप भएको टनेल इञ्जिनियर स्वदेशी विश्वविद्यालयले नै नियमित उत्पादन गरिरहेको यथार्थ एकातिर छ भने अर्कोतर्फ निर्माण सम्पन्न भइसकेका वा निर्माणाधीन अधिकांश जलविद्युत आयोजनाको सुरुङ खन्न विदेशी जनशक्ति परिचालन भएको छ ।

सिँचाई र सडकजस्ता राष्ट्रिय गौरवका निर्माणाधीन परियोजनाले कति स्वदेशी टनेल इञ्जिनियरलाई संलग्न गराए भन्ने प्रश्न महत्वपूर्ण छ । प्रतिभा पलायनको चिन्ताजनक आँकडा सार्वजनिक भइरहेका बेला सरोकारवालाले यसबारेमा गम्भीर भएर सोच्न अबेला भइसकेको छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।