म्याच फिक्सिङ बारे गृह मन्त्रालयको चासो, छानबिन गर्न प्रहरीलाई पत्र

पुस १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
म्याच फिक्सिङ बारे गृह मन्त्रालयको चासो, छानबिन गर्न प्रहरीलाई पत्र

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल टी– ट्वान्टी लिगमा भएको म्याच फिक्सिङका बारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । खेलाडीले पारिश्रमिक नपाएको र म्याचफिक्सिङको  चर्चा बाहिरिएसँगै उनले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्रचार गरेका हुन् ।

गृहमन्त्री लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार जारी नेपाल टी–ट्वाटी लिगमा म्याच फिक्सिङ भएका समाचार आएसँगै अनुसन्धान गर्न गृहमन्त्रालयले प्रहरीलाई पत्र पठाएको हो । ‘आज बिहानदेखि नै म्याचफिक्सिङको समाचार आइरहेको छ । यसबारेमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो,’ उनले भने, ‘ पत्रमा आयोजकाले पारिश्रमिक नदिएको विषयमा पनि छानबिन गर्नू भनिएको छ ।’

कीतिपुरस्थित त्रिवि खेल मैदानमा मंगलबारको पहिलो खेल करिब दुई घण्टा ढिलो भएको थियो । काठमाडौं नाइट्स र विराटनगर सुपर किंगका खेलाडीले पारिश्रमिक नपाएको भन्दै प्राविधिक टोलीसमक्ष टिम लिस्ट लिन माननेन् । दुवै टोलीका मालिकले पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरुभएको थियो ।

यसैबीच जारी लिगमा कमेन्टेटरको भूमिकामा आबद्ध सचिन तिमल्सेना म्याच फिक्सिङको शंका लागेसँगै जिम्मेवारीबाट मुक्त भएका छन् । त्यससँगै यस विवाद सतहमा आएको थियो । खेलपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको एक खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको बताएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.