सांसदका लागि कार्यालयको व्यवस्थापनको चटारो, कसले के सुविधा पाउँछन् ?

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
सांसदका लागि कार्यालयको व्यवस्थापनको चटारो, कसले के सुविधा पाउँछन् ?

काठमाडौं । सङ्घीय संसद् सचिवालय अब आउने दल तथा सांसदका लागि कार्यालयको व्यवस्थापनमा जुटेको छ । पुराना दलको संसदीय दलको कार्यालय मर्मत सम्भार गर्ने देखि नयाँ आउने दलका लागि बस्ने स्थानको जोहो गर्न सचिवालय लागि परेको छ । 

प्रमुख दलले प्रयोग गर्दै आएका कार्यालयमा सफाइ र रंगरोगनको काम सुरु हुँदै छ । संसद्मा दलहरूको सङ्ख्या बढ्ने भएकोले नयाँका लागि कार्यालय र कर्मचारी व्यवस्थापनको तयारी सचिवालयले गर्दै छ । सचिवालयले चुनाव जित्ने प्रमुख दलहरूलाई अधिकृतदेखि कार्यालय सहयोगीसहित तीन कर्मचारी उपलब्ध गराउँछ । २ जना सांसद भए कार्यालय पाइन्छ ।

सरकारमा जाने बाहेक संसद्को सबैभन्दा ठुलो पार्टीले प्रमुख प्रतिपक्षी दलको हैसियत पाउँछ । त्यस्तो दलको नेता र सचेतकलाई चालक र इन्धनसहित गाडी सुविधा हुन्छ र सत्तारुढ दलको प्रमुख सचेतकलाई पनि त्यसरी नै सुविधा दिने व्यवस्था छ । चुनावबाट समानुपातिकमा ३ प्रतिशत मत कटाउने पार्टीले राष्ट्रिय दलको मान्यता पाउँछन् । संसदीय दलको प्राप्त गर्न नसक्ने स्वतन्त्र र दलबाट १ जना मात्रै सांसद जितेकालाई पनि बस्न मिल्ने टेबुल कुर्चीसहित अलग्गै हल हुन्छ।

सांसदले प्रति महिना ५५ हजार २ सय ३० मासिक पारिश्रमिक, विशेष भत्ता, बैठक भत्ता, लगायतका सुविधा पाउँछन् । काठमाडौं उपत्यकामा घर नहुनेले मासिक १८ हजार र हुनेले मर्मतका लागि भन्दै ९ हजार रुपैयाँ पाउने व्यवस्था छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.