विवाह पञ्चमीको उल्लासमा मिथिला

मंसिर १२, २०७९
विवाह पञ्चमीको उल्लासमा मिथिला

जनकपुर । १० दिन यता स्वागत र मङ्गल धुनले मिथिला नगरी गुञ्जायमान छ । भगवान् राम र जानकीको विवाहको स्मरणमा मिथिला यति बेला विवाह पञ्चमीको उल्लासमय उद्गार देशभर प्रवाह गरिरहेको छ । आज जनकपुरधाम मिथिला संस्कृतिको ऐतिहासिक तथा साँस्कृतिक महत्त्व बोकेको राम जानकी विवाह पञ्चमी महामहोत्सव हर्षोल्लासपूर्वक मनाउँदै छ । 

त्रेता युगमा मङ्सिर शुक्ल पक्षको पचंमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् राम र जनक नन्दिनी जानकीबिच भएको वैवाहिक बन्धनको स्मरणमा हिन्दु धर्मावलम्बीहरुले आज उत्शाहका साथ विवाह पञ्चमी महोत्सव मनाउन जुटेका छन् । जानकी मन्दिर, राम मन्दिर लगायतका मठमन्दिरहरूबाट बाजागाजसहित निस्किने झाँकी नगरको विभिन्न भागको परिक्रमा गर्दै ऐतिहासिक रगंभुमि बराह विग्घा मैदानमा पुगी राम र जानकीको स्वयंवर हुने छ । स्वयंवर पछि जन्ती सहित जानकी मन्दिरमा फर्की आज राति वैदिक मन्त्र उच्चारण गरी वैवाहिक कार्यक्रम गरिने छ ।

विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, विवाह मण्डप, शिव मन्दिर लगायतका मठ मन्दिरहरूमा बिहानै देखि साधु सन्त, भक्तजन र दर्शनार्थीहरूको घुइँचो लागेको छ । विवाह पञ्चमी मेला भर्न नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजन जनकपुरधाम आएका छन् । उनीहरूको सुविधाको लागी विभिन्न सङ्घ संस्थाले पडांल, बिजुली, पानी, अस्थायी शौचालय, स्वास्थ्य शिबीर लगायतका सुविधाहरूको व्यवस्था मिलाएको छ । भिडभाडलाई मध्य नजर राख्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले नगरभित्र २ हजार भन्दा बढी सुरक्षाकर्मी र स्वंयमसेवक परिचालन गरेको छ । विवाह पञ्चमीको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

पौराणिक परम्परा अनुसार विवाह पञ्चमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, लक्ष्मण मन्दिर, दशरथ मन्दिर लगायतका मठमन्दिरहरूबाट झाँकी सहित डोला शोभा यात्रा निस्केको छ । ऐतिहासिक रगं भुमि ब्राहविघा मैदानमा राम र जानकीको विधिपूर्वक स्वयंवर भएपछि नगरको विभिन्न भागको परिक्रमा गर्दै डोला जानकी मन्दिर ल्याइएको छ ।

मिथिला परम्परा अनुसार राम र जानकीको प्रतिकात्मक स्वरूपको राति विधिपूर्वक वैवाहिक कार्यक्रम हुने छ । विवाह पञ्चमीमा देवी देउताको समेत उपस्थिति रहने जनविश्वासको आधारमा वैवाहिक कार्यक्रममा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानका हजारौँ श्रद्धालुहरू जनकपुरधाम आई पुगेका छन् । 

राम–जानकीको पहिलो भेट भएको फूलबारी प्रसङ्गबाट सुरु हुने राम जानकी विवाह पञ्चमीमा नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, मटकोर, तिलकोत्सव, विवाह उत्सव लगायत ७ दिनको विधिपूर्वक धार्मिक अनुष्ठान गरिन्छ ।