थापाथलीस्थित सुकुम्बासी बस्ती तनावग्रस्त, हतियारसहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिइने

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
थापाथलीस्थित सुकुम्बासी बस्ती तनावग्रस्त, हतियारसहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिइने

काठमाडौं । महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा उत्रिएकाहरुलाई नियन्त्रणमा नलिई आफूहरु नफर्किने चेतावनी दिएका छन् ।

सो बस्तीमा अनधिकृत रुपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रुपमा हातहतियार समेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नलाई कारबाही नगरी आफूहरु सो क्षेत्रबाट नफर्किने बताए ।

सोमबार अपराह्‌नदेखि सुकुम्बासी बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुढासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिब १० सुरक्षाकर्मी घाइते भएका छन् । अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरुलाई नियन्त्रणमा लिने र कानुनबमोजिम कारबाही हुने स्पष्ट पारे ।

यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रर्दशन गरेका छन् ।

भिडलाई नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ । अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले गत मंसिर ४ गतेभित्र अनधिकृत रुपमा बनाइएको बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नुपरेको महानगरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.