नरसिंह विष्टको हत्यामा संलग्न एक अभियुक्त सार्वजनिक

मंसिर १२, २०७९
 नरसिंह विष्टको हत्यामा संलग्न एक अभियुक्त सार्वजनिक

दार्चुला । व्यास गाउँपालिका–४ डोकटका नरसिंह विष्टको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । घटनाको एक साता बढी समय लगाएर प्रहरीले विष्ट हत्यामा संलग्न उनकै गाउँले २५ वर्षीय दीपक विस्टलाई सार्वजनिक गरेको हो ।

सोमबार दिउसो दार्चुला प्रहरीले डिपीओ फेसबुकमार्फत मङ्सिर ३ गते रातिको हत्या घटनालाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न डोकट, चौपखेका २५ वर्षीय दीपक विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मङ्सिर ३ गते राती १० बजेतिर गाउँपालिका–४ डोबस्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंह र दीपकले मादक पदार्थ सेवन गरेको अवस्थामा भेट हुँदा विवाद भएको तथा दीपकले नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको खुल्न आएको छ । हत्या गरेर मृतक नरसिंहको लास घिसारेर अन्दाजी दुई सय मिटर तल गोदार खोलामा पुर्‍याइ ढुङ्गाले च्यापेको अभियुक्त दीपकले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 विष्टलाई पक्राउ गरी दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेयले बताए । उनका अनुसार मृतक नरसिंहको शव मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा भेटिएको थियो । मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका विष्ट भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए । विष्टको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटेल चलाउँदै आएका नरसिंह मतदानका लागि मङ्सिर ३ गते दिउसो खलङ्गाबाट घर गएका थिए ।

आफन्तले हत्यारालाई कारबाहीको माग गर्दै पाँच दिनसम्म मृतकको शव बुझ्न मानेका थिएनन् । प्रहरीले तीन दिन पहिले जिल्ला अस्पताल दार्चुलामा शवको पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाएको थियो । मृतक विष्टका आफन्तले हत्या भएको आशङ्का गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका थिए । पछि प्रहरीले दोषीलाई कारबाही गर्न आश्वासन दिँदा आफन्तले शव बुझ्न तयार भएको र पोस्टमार्टमपछि शवको शनिवार अन्त्येष्टि गरिएको थियो ।

घटना लगत्तै प्रहरीले अनुसन्धान र सोधपुछका आधारमा अभियुक्त दीपकलाई पक्राउ गरेको थियो । त्यसपछि दार्चुला जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।