पाँचथरमा एमालेले विजय उत्सव मनाएपछि गन्न बाँकी मतपत्र भेटियो

मंसिर १०, २०७९
पाँचथरमा एमालेले विजय उत्सव मनाएपछि गन्न बाँकी मतपत्र भेटियो

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित उम्मेदवारले विजयी र्‍याली निकालिसकेपछि गन्न बाँकी मतपत्र भेटिएको छ ।

प्रतिनिधिसभा तर्फको गणना सकिँदा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले निकटतम् प्रतिस्पर्धी कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन् । नेम्वाङले विजय र्‍यालीसहित उत्सब मनाएपछि गन्न बाँकी मतपत्र भेटिएको छ ।

समानुपातिक तर्फको मतपेटिकामा प्रत्यक्ष तर्फको मतपत्र भेटिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए ।

मुख्य निर्वाचन अधिकृतको पहलमा सर्वदलीय बैठकमा बसी अहिले मतगणना नियमित गरिएको छ । अहिले समानुपातिक तर्फका मतपेटिकामा भेटिएका प्रत्यक्ष तर्फका मतपत्र र समानुपतिकको मतपत्र एकसाथ गणना भइरहेको छ ।

हालसम्म समानुपतिक तर्फका मत पेटिकामा कांग्रेसलाई १० तथा एमाले र माओवादी केन्द्रलाई मत दिएको दुई–दुईवटा मतपत्र भेटिएको छ । योसँगै प्रत्यक्ष आङदेम्वे र नेम्वाङबीचको मतअन्तर ३९ मा झरेको छ ।

मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार जिल्लामा कुल ७५ हजार ३ सय १६ मत खसेको छ । हालसम्म समानुपातिकतर्फ २० हजार मत मात्र गणना भएको छ । समानुपातिकको मत गणना सकिएपछि दुवै तर्फको अन्तिम परिणाम घोषणा गर्ने तयारी रहेको दाहालले जनकारी दिए ।

यहाँ प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा पनि प्रत्यक्ष तर्फका मतपत्र भेटिएका छन् ।

प्रत्यक्षतर्फको मतपत्र भेटिएपछि एमाले र कांग्रेसका प्रनिनिधिहरूबीच विवाद हुँदा शुक्रबार राति करिब दुई घण्टा मत गणना प्रभावित भएको थियो ।