जो सांसद्‌मा ह्याट्रिक गरे र जो ह्याट्रिक हारपछि जिते…

मंसिर १०, २०७९ |आरएन विश्वास
जो सांसद्‌मा ह्याट्रिक गरे र जो ह्याट्रिक हारपछि जिते…

राजविराज । लगातार तीनपटक सांसदमा विजयी हुने र लगातार तीनपटक सांसदमै पराजित भएर चौथोपटकमा विजयी हुने पात्र पनि सप्तरीमै भेटिएको छ । संजोग त के पनि छ यी दुवै पात्र नेपाली कांग्रेसकै हुन् ।

सांसद् बन्न नेपाली कांग्रेस सप्तरीका पूर्वसभापति एवं केन्द्रीय सदस्य दिनेशकुमार यादव २०७४ सम्मको तीनवटा निर्वाचनमा लगातार पराजित भइरहे । तर, ४ मंसिर २०७९ को निर्वाचनमा उनी सप्तरीको ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य (सांसद्) मा ३ हजार ८ सय ६६ मतको मतान्तरले विजयी भए ।

सप्तरीको विष्णुपुर गाउँपालिका ७ का ६१ वर्षीय यादव कांग्रेसको १४औं महाधिवेशन अघि सप्तरी कांग्रेसको दुईपटक सभापतिमा विजयी भएर नेतृत्व गरे । त्यसक्रममा उनी २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति सप्तरीका सभापति पनि भए ।

तर, त्यसपछि सांसद् बन्न उनले लगातार पहिलो र दोस्रो संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बने पनि जित हासिल गर्न सकेन । २०७४ को निर्वाचनमा उनले सप्तरी ३ बाट १९ हजार ४ सय १ मत ल्याएर दोस्रो भएका थिए ।

त्यसपछि यादवले कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन पक्षबाट पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवार भई विजयी हासिल गरे । उक्त विजयी यात्रा यादवका लागि फलदायी साबित भयो । अहिलेको निर्वाचनमा उनै यादव वामलोकतान्त्रिक गठबन्धनबाट सप्तरी ३ मा साझा उम्मेदवार भई २६ हजार १ सय ६६ मत ल्याउँदै चौथोपटकमा संसद् पुग्ने यात्रा खुलेको हो ।

यो क्षेत्रमा जसपा-एमाले तालमेलबाट एमालेका उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय ३० र एक्लै चुनाव लडेका सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार अनिश अन्सारीले १५ हजार १ सय १४ मत ल्याए । १८ जना उम्मेदवार रहेका यस क्षेत्रमा यसबाहेक कसैले पनि एक हजार मत पनि कटाउन सकेन ।

एक लाख ४ हजार ८ सय ९२ कुल मतदाता रहेको सप्तरी ३ मा अहिलेको निर्वाचनमा ७१ हजार ३ सय ३१ मतदाताले मतदान गरेको थियो । मतगणनाको क्रममा उक्त क्षेत्रमा ४ हजार ५ सय ११ मत बदर भएको पाइएको थियो ।

यस्तै सप्तरीको ४ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकै नेता तेस्रोपटक (ह्याट्रिक) सांसद् बनेका छन् । उनले २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन सप्तरी ५ (अहिलेको सप्तरी ४) र प्रतिनिधिसभा सदस्य पदको २०७४ मा भएको निर्वाचनमा सप्तरी ४ बाट विजयी भएका थिए । ०७४ को निर्वाचनमा चौधरीले २४ हजार १ सय १३ मत ल्याएका थिए ।

अहिले वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चौधरीले २३ हजार ४ सय ९१ मत ल्याएर ह्याट्रिक गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपा-एमाले तालमेलबाट जसपाका उम्मेदवार बालकिशोर यादवले १७ हजार ९ सय ७७ मत ल्याए ।

कुल १६ उम्मेदवार रहेको यो निर्वाचन क्षेत्रमा जनमत पार्टीका उम्मेदवार सुकदेवप्रसाद साहले १२ हजार ९ सय २५, बहुजन शक्ति पार्टीका उम्मेदवार विश्वेन्द्र पासवानले ३ हजार १ सय ७५, स्वतन्त्र उम्मेदवार मोहम्मद कासिम मियाँले १ हजार ७ सय १७ र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार देमन मियाँले १ हजार ५ सय १ मत ल्याए ।

१ लाख ४ हजार ८ सय ९३ कूल मतदाता रहेको यो क्षेत्रमा ६९ हजार ३९ मतदाताले मतदान गरेका थिए । मतगणननाका क्रममा यो क्षेत्रमा पनि ५ हजार ४९ मत बदर भएको थियो ।

निर्वाचित यादव भन्छन्- मुख्य काम यातायात सहज बनाउँछु

घरदैलोका क्रममा यो क्षेत्रमा १५ वर्षदेखि कुनै काम नभएको मैले पाएको छु । गाउँघरमा १५ वर्षअघि जस्तो बाटो थियो अहिले पनि उस्तै छ । जनतालाई सधैं सास्ती खेप्नुपरेकै छ । मलाई यो क्षेत्रको सबभन्दा ठूलो समस्या भनेकै यातायात नै लागेको छ । पातो-कठौना सडक, शम्भुनाथ-बनैनियाँ सडक हो । पातोदेखि तरही (भारत) सीमासम्मको सडक हो । रुपनीदेखि गाईघाटको सडक हो, रुपनीदेखि छिन्नमस्ता भगवतीसम्मको सडक हो । जुन सडक यो क्षेत्रको जनताका लागि अतिआवश्क छ । जहाँ सडक यातायात पुगेको छैन । त्यहाँ कुनै किसिमको परिवर्तन हुन सक्दैन । सडक सन्जाल निर्माण भयो भने यो क्षेत्रका जनताको आर्थिकदेखि शैक्षिकसम्मको गतिविधि बढ्नेछ । म आफ्नो कार्यकालमा यी सडकहरुको निर्माण पूरा गराउन मात्र सके मैलै मतदाताको ऋण चुक्ता गरेको भनि आफूलाई गर्व हुनेछ ।

निर्वाचित चौधरी भन्छन्- शिक्षा र स्वास्थ्यमा ध्यान दिन्छु

तेस्रोपटक पनि जनताले मलाई सेवा गर्न अवसर दिन्छ भने मलाई निर्वाचनअघि देखि नै मनमा विश्वास थियो । अहिले जनताको आशीर्वादले तेस्रोपटक सांसद् बनेको छु । अब मैले मेरो निर्वाचन क्षेत्र मात्रै नभई सिंगो सप्तरी जिल्लालाई आर्थिक रुपमा, सामाजिक रुपमा, सांस्कृतिक रुपमा र विकासका रुपमा अगाडि बढाउँछौं र परिवर्तन ल्याउँछौं ।

ठोस कार्यक्रम जस्तै- हाम्रो ४ नम्बर क्षेत्रका विद्यार्थीलाई क्याम्पस पढ्न कि त सिरहाको लहान जानुपर्छ वा विराटनगर जानुपर्छ । त्यसैले एउटा राम्रो क्याम्पसको आवश्यकता भएकाले त्यतातर्फ ध्यान केन्द्रित गर्छु । अहिलेसम्म एउटा पनि सुविधाजनक अस्पताल सप्तरीमै छैन । सबै रिफर हुने खालको मात्रै अस्पताल मात्र छ । राजविराजको गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गराउँछु र आफ्नो क्षेत्रमा पनि एउटा सुविधाजनक अस्पताल सञ्चालनमा ल्याउने कोसिस गर्छु । यो क्षेत्रमा बलान नदीले बर्सेनि समस्या गर्दै आएकामा त्यसको समाधानतर्फ पनि लाग्नेछु । 


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।