गोली प्रहार गरी भाइको हत्या गर्न खोज्ने एक जना पक्राउ

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
गोली प्रहार गरी भाइको हत्या गर्न खोज्ने एक जना पक्राउ

ताप्लेजुङ । बन्दुकबाट गोली प्रहार गरी आफ्नै भाइको हत्याको प्रयास गरेको आरोपमा ताप्लेजुङमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलीले हातहतियारसहित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने नवीन कुमार नाल्बोलाई पक्राउ गरेको हो ।

उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरि हत्या प्रयासको आरोप छ ।

अपराधसँग सम्बन्धित प्रमाण संकलन गर्ने क्रममा उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुकको नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लाष्टिकको पोका एक थान, सेतो बट्टामा समेत बारुद रहेको (gun powder) एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बट जस्तो देखिने काठको बस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दाअन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.