अस्वस्थ खानपान र व्यायाम नगर्दा बढे मुटु रोगी

आश्विन १३, २०७९
अस्वस्थ खानपान र व्यायाम नगर्दा बढे मुटु रोगी

समयमै सचेत र सतर्क भए मुटुरोगको सजिलै रोकथाम गर्न सकिन्छ । तर पछिल्लो समय अस्वस्थ्यकर जीवनशैलीका कारण नेपालमा मुटुरोगको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । सरकारले मुटु रोगीको उपचारमा सहयोगको व्यवस्था गरे पनि जनचेतना र उपचारका लागि आवश्यक स्वास्थ्य संस्था विस्तार भने हुन सकेको छैन ।

आधुनिक जीवनशैलीले थपेको व्यस्ततासँगै मानिसको खानपान र रहनसहनमा निकै परिवर्तन आएको छ । शारीरिक व्यायामको कमी,  वंशाणुगत, चिल्लोयुक्त खाना, सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग लगायत अस्वस्थकर खानपानका कारण मुटु रोगीको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् । 

आर्थिक वर्ष २०७७ /७८ मा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १ लाखभन्दा बढी मुटुका बिरामीले बहिरंग सेवा लिएका छन् भने  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा वार्षिक ५० देखि ५५ हजार बिरामी मुटुको उपचारका लागी आउने अस्पतालले जनाएको छ ।  मुटु रोगमध्ये सबैभन्दा बढीमा हृदयाघातको समस्या देखिने गरेको छ। यो समस्या पछिल्लो समय युवाहरुमा समेत देखिन थालेको छ । 

सरकारले मुटुरोगको उपचारका लागि  १ लाख रूपैयाँ सहयोग गर्दै आएको छ । त्यस्तै १५ वर्षभन्दा मुनि तथा ७५ वर्षभन्दा माथिकालाई नि:शुल्क उपचारको व्यवस्था छ । तर मुटुरोग रोकथामका लागि आवश्यक जनचेतना, र उपचारका लागि स्वास्थ्य संस्था विस्तार भने हुन सकेको छैन । मुटुरोगीको संख्या बढ्दै जाँदा सरकारले राजधानी केन्द्रित मुटु अस्पताललाई संघीय संरचनाअनुसार विस्तार गर्न आवश्यक छ ।