दाङका अस्पताल डेंङ्गी परीक्षणको मनोमानी शुल्क लिँदै

आश्विन ६, २०७९
दाङका अस्पताल डेंङ्गी परीक्षणको मनोमानी शुल्क लिँदै

सरकारले डेङ्गी परीक्षणको एकीन मूल्य नतोकेपछि दाङका अस्पतालले मनोमानीरुपमा परीक्षण शुल्क लिने गरेका छन् । ३ सय रुपैयाँमा किट किनेर पाँच सयदेखि १ हजार पाँच सयसम्म परीक्षण शुल्क अस्पतालले उठाउँदै आएका छन् ।

डेङ्गीका बिरामीले अस्पताल खचाखच भरिन थालेपछि यहि मौका छोपेर दाङका अस्पतालहरुले सेवाका नाममा व्यापार गर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी परीक्षण गर्ने 'टेष्ट र्‍यापिड किट' ३ सय रुपैयाँमा पाइन्छ । तर दाङका अस्पतालहरुले ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म परीक्षण शुल्क असुली रहेका छन् । 

सरकारले स्पष्ट रुपमा शुल्क नतोकेको र खरीद नै महङ्गो पर्ने भएका कारण आफूहरुले परीक्षण शुल्क १ हजार ५ सय लिने गरेको अस्पतालको भनाई छ । दाङका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ सय, मितेरी अस्पतालमा १ हजार २ सय, गोर्खा अस्पताल १ हजार ५ सय, बुद्ध इन्टरनेशनल अस्पतालले १ हजार ५ सय डेङगीको परिक्षण शुल्क लिने गरेका छन् । अस्पतालहरुले मनोमानी रुपमा शुल्क लिएको बारेमा गुनासो आए कारवाही गर्ने प्रशासनको भनाई छ ।

साउन महिनामा १६ जनामा मात्र देखा परेको डेङगी भदौ मसान्तमा एक हजारभन्दा बढिमा देखा परेको छ । डेङगीका कारण दाङमा एक महिलाको मृत्यु भैसकेको छ । दिन प्रतिदिन बढिरहेको डेङ्गीको प्रकोपलाई नियन्त्रण गर्नका लागि परिक्षण किटको सहजता र मनोमानीरुपमा असुलीरहेको परिक्षण शुल्कका बारेमा सरोकारवालाहरुले ध्यान दिनु पर्ने देखिन्छ ।