मधेश प्रदेशका ८ वटै प्रादेशिक अस्पतालमा उपकरण छ, जनशक्ति छैन

भाद्र २७, २०७९
मधेश प्रदेशका ८ वटै प्रादेशिक अस्पतालमा उपकरण छ, जनशक्ति छैन

मधेश प्रदेश सरकारले आठ वटै जिल्लाका प्रादेशिक अस्पतालमा आवश्यक उपकरण आपुर्ति गरेको छ । यसले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा सुधारका लक्षण देखिएको छ । तर आवश्यक विशेषज्ञ चिकित्सकसहित दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा अपेक्षाकृत रुपमा प्रभावकारी हुन भने सकेको छैन ।

मधेश प्रदेश सरकारले जनकपुरधाममा व्यवस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाजस्तै आवश्यक उपकरणसहित जनकपुरधाममा पनि बिरामीलाई छिटोछरितो सेवा दिन थालेको छ । सरकारी दरमा सबै खालका स्वास्थ्य परिक्षण हुन थालेपछि दैनिक सय जनाभन्दा बढि बिरामी यस प्रयोगशालामा आउने गरेका हुन् । 

जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई बिशेष प्राथमिकतासहित सेवा सुरु गरेको सामाजिक विकास मन्त्रालयले मधेशका सबै १ सय ३६ स्थानीयतहमा जनस्वास्थ्य प्रयोगशाला बिस्तारका लागि करारमा कर्मचारी भर्ना थालेको छ । केहि दिनभित्र ब्लड बैंकको सुरुवात गर्न तरखरमा रहेका सामाजिक बिकास मन्त्रालयले खोप भण्डारण कक्ष निर्माण गरेको छ । भण्डारणको अभावमा खोप सेवा नै प्रभावित हुन थालेपछि अहिले जनकपुरधाममै विभिन्न किसिमका सुरक्षित खोप राख्नका लागि छुट्टाछुट्टै तीन वटा भण्डारण कक्ष सञ्चालनमा ल्याएको हो ।

बाक्लो जनधनत्व र धनाबस्ती रहेको मधेश प्रदेशका आठ वटै जिल्लामा रहेका जिल्ला अस्पताललाई प्रादेशिक अस्पताल नामाकरण गरिएको छ । त्यही अनुसारको उपकरण पनि व्यवस्था गरिएको छ । तर दरबन्दी अनुसारको चिकित्सक नहुँदा उपचार सेवा भने प्रभावकारी हुन सकेको छैन । 

सदरमुकाममा रहेका अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुको उपचारका लागि भेन्टिलेटर लगायतका आवश्यक उपकरणहरुको आपूर्ति गरिएको छ । तर, आवश्यक जनशक्ति नहुँदा कतिपय उपकरण अहिलेसम्म प्रयोगमै आएको छैन । 

स्वास्थ्य सेवाको अबस्था निकै कमजोर देखिएको मधेश प्रदेशमा सरकारी स्तरमा आवश्यक उपचार सेवा दिन सके सर्वसाधारणलाई आर्थिक भारमा कटौती त हुन्छनै प्रदेश सरकार प्रतिको विश्वसनियता पनि बढ्ने थियो ।