मतदाता शिक्षाका लागि निर्वाचन आयोगले घरदैलो अभियान चलाउने

भाद्र ५, २०७९
मतदाता शिक्षाका लागि निर्वाचन आयोगले घरदैलो अभियान चलाउने

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मत बदर कम गर्न निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउने भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मत बदरको संख्या बढेपछि आयोगले मतदाता स्वयंसेवक परिचालनदेखि राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई तालिम दिन लागेको हो। 

२०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आयोगले मतदाता शिक्षा डिजिटल प्रविधि मार्फत मात्रै चलाएको थियो । त्यो निर्वाचनमा पालिका प्रमुख र अध्यक्षमा ९ प्रतिशतभन्दा बढि तथा उपप्रमुख र उपाध्यक्षमा १६ प्रतिशतभन्दा बढि मत बदर भयो । मत बदरको यो गम्भीर तथ्यांकले चुनौती थपिएपछि आयोगले अहिले घरदैलोमै मतदाता स्वंयसेवक परिचालन गर्ने तयारी थालेको छ । मतदाता शिक्षाका लागि नगर र गाउँपालिकाका ६५ सय वडामा मतदाता शिक्षा स्वय‌ंसेवक खटाउनेदेखि रेडियो-टेलिभजन सन्देश र सांगितिक कार्यक्रम समेत हुनेछन् । 

मतदाताले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी दुर्इवटा र प्रदेशसभा तर्फ पनि त्यसरी नै अलग-अलग दुर्इ वटा मतपत्रमा मत हाल्नुपर्नेछ । धेरैभन्दा धेरै मतदातालार्इ भोट हाल्ने बनाउनु र मत बदर जतिसक्यो कम गर्नु आयोगको चुनौति हो । त्यसैले आयोगले राजनीतिक दलका प्रतिनिधिलार्इ र शान्ति सुरक्षादेखि चुनावी निरीक्षणमा खटिने प्रमुख जिल्ला अधिकारीलाई पनि तालिम दिँदैछ । स्थानीय तह निर्वाचनको बदर मत संख्याले पनि आयोगलाई मतदाता शिक्षामा ध्यान दिनुपर्ने देखाएको हो । 

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले जति भूमिका खेल्छ त्यत्तिकै महत्व मतदाता शिक्षालाई दिनुपर्छ । स्थानीय तहमा भएको मत बदरको संख्याले पनि अब निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रति थप गम्भीर बन्नैपर्छ भन्ने देखाएको छ ।