विद्यार्थीको आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र सहप्राध्यापकको परीक्षा प्रभावित

श्रावण १५, २०७९
विद्यार्थीको आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र सहप्राध्यापकको परीक्षा प्रभावित

यसअघि पटकपटक स्थगित भएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय प्राध्यापकको परीक्षा सेवा आयोगले आइतवारदेखि निर्धारण गरेको थियो । तर नेपाल विद्यार्थी संघले सेवा आयोगका पदाधिकारीको चारवर्षे कार्यकाल सकिनै लाग्दा परीक्षा लिनु निष्पक्ष नहुने भन्दै आयोगको मूलढोकामा तालावन्दी गरी आन्दोलनमा उत्रिए । आयोगका अध्यक्ष लालुप्रसाद पौडेलको पदावधि बिहीबारबाट सकिदैं छ । यही विषयमा विद्यार्थीको आन्दोलनले गुरुहरुको वृत्तिविकासको परीक्षा प्रभावित भएको हो । 

त्यसो त सेवा आयोगले अघिल्लो महिना लिएको उपसचिव सरहको उपप्रशासक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत, लगायत ५ वटा विभिन्न सेवा, समूहको परीक्षामा एकजना पनि उम्मेदवारहरु उर्तीण हुन नसकेपछि चौतर्फी आलोचना भएको थियो । आन्दोलनरत विद्यार्थीले यसअघिका परीक्षाहरुमा भएका कमीकमजोरी र लापवाहीको छानविन हुनुपर्ने माग राखेका छन् । तर अनेरास्ववियुले भने आफ्नै गुरुहरुको वृत्तिविकासको परीक्षामा अवरोध गर्न नहुने भन्दै ताला खोल्न दवावमुलक प्रदर्शन गरेका छन् । 

प्राध्यापक र सह प्राध्यापकको परीक्षाका लागि विभिन्न क्याम्पसबाट सहभागी भएकाहरुले विश्वविद्यालय र सेवा आयोग समाधानका लागि गम्भिर नबन्दा परीक्षा प्रभावित भएको बताएका छन् । 

सेवा आयोगले भने अर्को सूचना जारी गरेर परीक्षा सञ्चालन गर्ने जनाएको छ । प्राज्ञिक थलोमा हुने राजनीतिकरणकै कारण प्राध्यापकहरुको परीक्षा प्रभावित हुन पुगेको हो । 

यसप्रति पदाधिकारीहरु संवेदनशील हुन निकै ढिला भइसक्यो ।