एशिया कपको अवसर झरीले रोकेपछि क्रिकेट प्रशिक्षक र खेलाडीको आँखामा आँसु

असार १४, २०७९
एशिया कपको अवसर झरीले रोकेपछि क्रिकेट प्रशिक्षक र खेलाडीको आँखामा आँसु

उनी हुन् राष्ट्रिय महिला टिमका प्रशिक्षक जगत टमाटा । मलेसियामा सम्पन्न प्रतियोगिताबारे हामीले प्रश्न गर्दा एक्कासी भक्कानिए । सम्भवतः कुनै पनि खेलको नतिजालाई लिएर प्रशिक्षक टमाटा क्यामराको अगाडि यसरी भावुक बनेको यो पहिलो पटक हो । 

सेमिफाइनलमा पहिले ब्याटिङ गरेको युएइले नेपालाई ८२ रनको लक्ष्य दिएको थियो । फाइनल पुगे आगामी अक्टोबरमा बंगलादेशमा हुने एसिया कपका लागि छनोट हुने र हारे प्रतियोगिताबाटै बाहिरिने भन्ने नेपाली टिमलाई राम्रोसाग थाहा थियो । तर दोस्रो इनिङ सुरु नै भएन् । त्यही कारण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपालको मुखैमा आएको अवसरलाई पानीले बगाइदियो । समूह विजेताका आधारमा युएइले फाइनलमा स्थान बनायो । हङकङसाग हारेपछि नेपाल समुह उपविजेता बनेको थियो । सेमिफाइनलमा अस्मिना कर्माचार्यले करियरकै उत्कृष्ट वलिङ गर्दै ५ विकेट लिए पनि उनको मन खुसी छैन ।

एउटा अवसर गुम्दा त्यसले कति क्षति पुग्छ, त्यो खेलाडीलाई मात्र थाहा हुन्छ । डेढ दशक लामो नेपाली महिला क्रिकेटको इतिहासमा सिनियर टिमले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उपाधी जितेको छैन । यस पटकको प्रतियोगिताले खेलाडीको चित्त मात्र देखाएको छैन । कमजोरी पनि औंल्याइदिएको छ । आफूभन्दा कमजोर टोली अघि बढिरहादा क्यानले महिला क्रिकेटमा गम्भीर भएर समीक्षा गर्ने समय आएको छ ।