\'ट्रयाक एन्ड फिल्ड\' मा राष्ट्रिय एथ्लेटिक्स संघको ध्यान नजादा खेलाडी निराश

असार १३, २०७९
 'ट्रयाक एन्ड फिल्ड' मा राष्ट्रिय एथ्लेटिक्स संघको ध्यान नजादा खेलाडी निराश

उनी रोहित चौधरी , ज्याभलिन थ्रोका खेलाडी । यो खेलमा लागेको झन्डै दश वर्षभन्दा बढी भयो । २८ वर्षका रोहित  सुनसरीको   भंगाहा नगरपालिकाबाट ज्याभलिन खेल्ने एक्ला खेलाडी हुन् ।  कुनैबेला यही खेलका कारण उनलाई गर्व महशुश हुन्थ्यो । त्रिभुवन आर्मी क्लबमा आवद्ध रोहितमा आजभोलि त्यो उत्साह छैन । उनको ज्याभलिन अर्थात भाला पनि पुरानो भइसक्यो । थोत्रिएको उनको भालालाई हावाले समेत असर गर्छ – निर्धारित दुरिभन्दा अघि नै हावाले भालाको दिशा  मोडिदिन्छ । नियमित प्रतियोगिता नहुँदा यो खेलको विकास हुन सकेको छैन र खेल सामग्री पनि गुणस्तरिय छैनन् । रोहितले आफु 'खेलाडी हुँ' भन्ने पनि बिर्सिसकेका थिए ।  

ट्रयाक एण्ड फिल्डको यो प्रतिस्पर्धा  २०७५-७६ मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिको पहिलो हो । तीन वर्ष अघि १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय टिममा भएका खेलाडीले खेल्ने मौका पाए । सिनियर खेलाडीलाई टक्कर दिने नयाँ खेलाडी खासै देखिएका छनैन् । पुराना खेलाडी आफैसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

ट्रयाक एन्ड फिल्ड कुनै पनि बृहत खेलकुद प्रतियोगिताको सौन्दर्यका रुपमा लिइन्छ । ओलम्पिक, एसियाली तथा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ट्रयाक एन्ड फिल्डमा पदक जित्नुलाई देशले प्रतिष्ठाका रुपमा लिइन्छ।  अरु देशले यसमा लगानी पनि धेरै गरेको छ तर नेपालमा भने स‌ंघ नै निस्क्रिय छ । तीन वर्षसम्म प्रतियोगिता नहुँदा पनि यसपाली खेलाडीहरुको सहभागिता उत्साहजनक रह्यो । तर संघले के बुझ्न जरुरी छ भने ग्रासरुटमा  लगानी र  राष्ट्रिय प्रतियोगिता नियमित नभए केही समयमै  ट्रयाक फिल्डमा प्रतिस्पर्धा गर्ने खेलाडी पाउनै मुश्किल पर्नेछ ।