एनआरटी असार १४ गते प्रि–सिजन टुरमा मलेसिया जाँदै

असार ९, २०७९
 एनआरटी असार १४ गते प्रि–सिजन टुरमा मलेसिया जाँदै

सहिद स्मारक ए डिभिजन क्लब एनआरटी यसै साता अर्थात् असार १४ गते प्रि–सिजन टुरका लागि मलेसिया जाँदै छ । घरेलु मैदानमा तयारी गरिरहेको क्लबको मलेसिया र थाइल्याण्डको प्रि–सिजन टुर खेलाडी र क्लबलाई अनुभव बटुल्ने अवसर हुने छ । सँगसँगै पहिलो टूर  चुनौतीपूर्ण पनि हुने क्लबले जनाएको छ ।

एनआरटी क्लब मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा टीवाईटी कप फुटबल प्रतियोगितामा सहभागी हुँदैछ । पेनाङ सहरका प्रमुख मिस्टर याङले पद बहाली गरेको पहिलो वार्षिकोत्सवको अवसरमा हुन लागेको यो प्रतियोगिता २८ जुनदेखि २ जुलाईसम्म हुने छ । प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको दोस्रो डिभिजन क्लब कारो सहभागी हुनेछन् । प्रतियोगितापछि एनआरटीको टिम थाइल्याण्ड जाने छ । थाइल्याण्डमा थाई लिग वान क्बल चोनबुरीसहितका क्लबसँग ३ मैत्रीपूर्ण खेल्ने योजना छ । प्रशिक्षकले भ्रमण चुनौतीपूर्ण भए पनि अनुभव हाँसिलका लागि फलदायी हुने विश्वास लिएका छन् ।

एनआरटीले घरेलु तयारीसमेत अन्तिम चरणमा पुर्याएको छ । निकै आत्मविश्वासी देखिएको क्लबले यस पटक ९ नयाँ खेलाडी अनुबन्ध गरेको छ ।  खेलाडी पनि पहिलो पटक प्रि–सिजन खेल्न विदेश जान पाउँदा हर्षित छन् । नेपाली क्लब फुटबल इतिहासमै यो ऐतिहासिक प्रि–सिजन टुर रहेको क्लबको दाबी छ । 

एनआरटीले अहिलेसम्म पाँच पटक ए डिभिजन लिग जितेको छ । फागुनमा सम्पन्न लिगमा क्लबले तेस्रो स्थान हात पारेको थियो । शीर्ष डिभिजन लिगको तयारीमा प्रि–सिजन भ्रमणमा विदेश जाने एनआरटी पहिलो क्लब हो । यतिमात्रै हैन, प्रतियोगिता सुरु हुनु महिना दिन अघि मात्र अभ्यास थाल्ने अन्य क्लबहरुलाई एनआरटीको महिनौं लामो प्रि–सिजन टुर सिकाईको अवसर हो । 

राष्ट्रिय टिममा नपर्ने नेपाली खेलाडीले कमै मात्र अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पाउने गरेका छन् । त्यसमा पनि क्लव स्तरका खेलाडीले यस्तो मौका पाउनै मुस्किल हुन्छ। तर एनआरटीले पहिलो चोटी आफ्ना खेलाडीलाई म्याच एक्सपोजिङको मौका दिनु नेपाली फुटबलमा क्षेत्रमा एउटा नयाँ आयाम थपिएको छ ।