सिद्धार्थ राजमार्ग स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

असार ६, २०७९
सिद्धार्थ राजमार्ग स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

पोखरा पाल्पा जोड्ने एक मात्र उत्तर-दक्षिण सडक हो, सिद्धार्थ राजमार्ग । तर यही राजमार्गको स्तरोन्नतीमा भएको लापरवबाहीका कारण यात्रुले निकै सास्ती बेहोर्दै आएका छन् । हिउँदमा धुलाम्मे हुने र वर्षा लागेपछि पहिरोको जोखिम बढ्ने सडकमा १० वर्षअघि लागेका ठेक्काका काम अझै पुरा भएको छैन ।

आर्थिक वर्ष २०६९-७० मा निर्माण कम्पनी कान्छाराम-जयबाबा गोरख जेभीले ४ करोड ८० लाखमा स्तरोन्नतीको कामको ठेक्का लिएर अझैसम्म ३५ प्रतिशत पूरा गरेको छैन । त्यसपछि लगाएका दर्जनभन्दा बढी ठेक्काको काम पनि अलपत्र छन् । त्यही विषयलाई लिएर प्रतिनिधिसभामा सांसद सोमप्रसाद पाण्डेले काम नगर्ने निर्माण व्यवसायीलाई भुक्तानी नै रोक्न माग गरे । 

राजमार्गको सिद्धबाबा खण्डमा मात्रै १० करोड बढीको ठेक्काको काम अहिले पनि निरन्तर छ । सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर सुरुङमार्गको काम अझै सुरु भएको छैन । सिद्धबाबादेखि राम्दीसम्म थप १५ करोडको कामको ठेक्का लागिसकेको छ । सडक डिभिजनका अनुसार बजेटको अभाव भन्दा पनि निर्माण व्यवसायीले समयमा काम नसक्दा समस्या भएको हो । 

हिउँदमा काम नगर्ने र वर्षायाम लागेपछि काम गर्दा टिकाउ नहुने गरेको छ । कार्यालयलाई कामको प्रगति देखाउन र असार मसान्तमा भुक्तानी लिनका लागि मात्र काम गर्दा व्यवसायीले गुणस्तरमा ध्यान दिँदैनन् । 

सिद्धार्थ राजमार्गको पाल्पा खण्डको सिद्धबाबा, झुम्सा भुतखोला, पानीमिल, हिउँदेखोला, चौविसमाइल, डुम्रे, गौडेपुल लगायतका स्थानमा अहिले पनि जोखिम उत्तिकै छ । सडकमा खसेका पहिरो पन्छाउन, भासिएका सडकको मर्मतमा मात्रै वर्षेनि ५ करोड बढी खर्च हुँदै आएपनि सडकको दिर्घकालिन समाधानका लागि भने पहल भएको छैन ।