सानो उमेरका टेनिस खेलाडीको प्रदर्शन सुधार हुँदै

असार ४, २०७९
सानो उमेरका टेनिस खेलाडीको प्रदर्शन सुधार हुँदै

खेलकुद विकासको मेरुदन्ड नै तल्लो तहमा गरिने लगानी हो । यसअन्तर्गत एकेडेमी सन्चालन, उमेर समुहका प्रतियोगिता, स्तरीय पूर्वाधार निर्माणलगायत पर्छन् । तर नेपालको सन्दर्भमा खेलकुदको तल्लो तहमा लगानी बढाउँदै  उपलब्धि गर्ने सोचको विकास भएको छैन । त्यही कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति कमजोर छ । तर टेनिसले भने सानो उमेरका खेलाडीमा सक्ने जति लगानी गरेको छ र त्यही अनुसार खेलाडीको प्रदर्शन पनि सुधार हुँदै गएको देखिन्छ ।

ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीसँगै जोडिएको छ– टेनिस कोर्ट । यही कोर्टमा नेपाल टेनिस संघले एसिया अन्डर टुवेल्भ टिम टेनिस प्रतियोगिता गर्यो । यो एसियालीस्तरको प्रतिस्पर्धाका लागि छनोट खेल थियो । नेपालले उमेर समुहको यो प्रतियोगिता गरेको तेस्रो पटक हो । नेपालबाट पुरुष तीन र महिला तीन गरी ६ खेलाडीले भाग लिएका थिए । उनीहरु फाइनल चरणका लागि छनोट नभए पनि अन्तर्राष्ट्रिय खेलको अनुभव भने बटुल्ने अवसर पाए । 

पाँच दिनसम्म भएको प्रतियोगितामा दक्षिण एसियाका सवै राष्ट्रले भाग लिएका थिए । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनु खेलाडी मात्र होइन प्रशिक्षक र रेफ्रिलगायतलाई पनि प्रतिभा देखाउने अवसर मिल्छ । 

त्यसो त १३ औं दक्षिण एशीयाली खेलकुदपछि टेनिस कोर्टको स्तरोन्नती भएको छ । हाल ४० जना उमेर समुहका खेलाडी नियमित प्रशिक्षणमा छन् ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ र अन्य देशका खेलाडीले पनि नेपालको मौसम र कोर्टको प्रशंसा गरेका छन् ।

नेपालमा लनटेनिस धेरै पहिलादेखि नै खेल्न थालिएको भए पनि प्रतियोगिता हुन थालेको भने पछि मात्रै है । आइटिएफ प्रशिक्षणमा ४० खेलाडी सहभागी छन् । त्यसैले अन्य खेलको तुलनामा टेनिसको ग्रासरुटस्तर राम्रो रहेको छ ।

टेनिस महंगो खेल भएकाले अझै पनि आममानिसको आकर्षण कम छ । तर, तल्लो तहमा गरिएको लगानीले आजको भोलि नै नतिजा नआउने भए पनि टेनिसबाट अन्तर्राष्ट्रिय सफलताको आशा भने गर्न सकिन्छ ।