निर्वाचनको मतपरिणामले दलीय शक्ति सन्तुलन हेरफेरको संकेत

जेष्ठ ३, २०७९
निर्वाचनको मतपरिणामले दलीय शक्ति सन्तुलन हेरफेरको संकेत

स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । करिब आधा स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको मत र दलहरुले अग्रता लिएका स्थानलार्इ हेर्दा दलीय शक्ति सन्तुलन तलमाथि पर्ने देखिन्छ । 

निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा २०७४ सालको निर्वाचनमा पहिलो शक्ति बनेको एमाले यसपटक त्यो स्थितिबाट तल झर्ने देखिन्छ । अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार जित र अग्रता दुवैमा एमालेभन्दा कांग्रेस अगाडि छ । दोस्रो शक्ति बन्ने संकेत देखिएको एमालेले विगतका पकेट क्षेत्रसमेत गुमाउँदै गएको छ । दुर्इ तिहाइ नजिकको बहुमतमा रहेका कम्युनिष्टबाट सत्ता हात लिएको कांग्रेसले उनीहरुसँगकै सहकार्यमा आफूलार्इ थप केही बलियो बनाएको छ । त्यति हुँदाहुँदै पनि एमालेको उपस्थित कमजोर नै भने छैन । 

त्यसो त नेकपा माओवादी केन्द्रले पनि चुनावमार्फत आफू कमजोर नरहेको संकेत दिएको छ । माओवादीको शक्ति विगतको जस्तै देखिन्छ । तर सत्ता साझेदार दलहरुले गठबन्धनको भावनाअनुसारको मत भने प्राप्त गर्न सकेको देखिँदैन । 

अर्कोतर्फ मधेस प्रदेशमा समेत त्यहाँका दलहरुको विभाजनको फाइदा प्रमुख फाइदा लिएको देखिन्छ । यसपटकको निर्वाचनको अर्को पक्ष युवा उमेदवारप्रति मतदाताको आकर्षण देखिएको छ । संविधान जारी भएपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा धेरै युवा आफूलार्इ उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । यसले युवा पुस्ता राजनीतिबाट टाढिँदै जाने अवस्थालार्इ रोक्न सहयोग पुगेको छ ।

स्थानीय तह निर्वाचनको आधाभन्दा धेरै मत परीणाम प्राप्त हुँदा स्थापित दलहरुकै पक्षमा धेरै मत छ । तर यसपटकको निर्वाचनमा केही फरक दृष्य पनि देखिएका छन । महत्वपूर्ण स्थानमा स्वतन्त्रहरुको अग्रता त कतै विजयी जस्ता परिदृष्यले आमनागरिकले कुनै न कुनै परिर्वतन खोजेको देखिन्छ ।