बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

जेष्ठ २, २०७९
बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि भेटवार्ता हुने भएको  छ । भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीका अबसरमा भोलि पाँच घण्टाका लागि लुम्विनी आउँदै छन् ।दुबै देशका प्रधानमन्त्रीले  बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन् ।

बिशेषगरि भारत र नेपालमा रहेका बुद्धसँग सम्वन्धित स्थलहरु बोधगया, सारनाथ र कुसीनगर जोडेर बुद्ध सर्किट अघि बढाउने विषयमा प्रधानन्त्री देउवा र मोदीबीच छलफल हुने छ । त्यसअवसरमा ऊर्जा, व्यापार, कनेक्टिभिटी र साझेदारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण  गर्न गोरखपुरको आकाश भएर  एयर इन्ट्री रुटका लागि  पुन: आग्रह गर्ने भएको छ । 

प्रधानमन्त्री देउवासँगको द्विपक्षीय वार्तासँगै मोदीले लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन र  बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।  

मोदी भोलि बिहान करिब ११ बजे लुम्बिनी आइपुग्ने कार्यतालिका छ । दिल्लीबाट उत्तरप्रदेशको कुशीनगरमा रहेका बिमानस्थलसम्म भारतीय विमान र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी-हेलिप्याडसम्म आउने छन् । यसअघि चार चोटी नेपाल आएका मोदीको प्रधानमन्त्रीको  दोस्रो कार्यकालको रुपमा यो पहिलो नेपाल भ्रमण हो ।