निर्वाचनको प्रभाव: गाउँ घरमा खसीबोका पाउनै मुस्किल !

वैशाख २७, २०७९
 निर्वाचनको प्रभाव: गाउँ घरमा खसीबोका पाउनै मुस्किल !

स्थानीय तहको निर्वाचनका कारण जताततै चहलपहल मात्र बढेको छैन, उपभोग्य वस्तुको खपत पनि बढेको छ । स्थानीय उत्पादनदेखि पेट्रोलियम पदार्थको खपत ३० प्रतिशतले बढेको छ । गाउँ-गाउँसम्म चुनाव प्रचार-प्रसारसँगै व्यापार व्यवसाय फस्टाएपछि स्थानीय व्यापारी र  किसान दंग छन् ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा लोकल कुखुरा तथा खसीबोका पाउनै मुस्किल भइसक्यो । गुल्मी, पाल्पा, अर्घाखााची, स्याङ्जा, पर्वतलगायतका जिल्लामा स्थानीय उत्पादनले अपुग भएपछि बुटवल तथा भैरहवाबाटसमेत व्यापारीले सामान आयात गर्न थालेका छन् । 

चुनावका बेला गाँउगाँउ र टोलटोलमा भेला भएर सामूहिक रुपमा खानपान गर्ने प्रवृत्ति बढेको छ । त्यही कारण मासुको माग १० गुणासम्मले बढेको छ । काठमाडौं उपत्यकामै पनि खसीबोकाको माग बढेको छ । चैतमा दैनिक २२ हजार खसीबोका बिक्री हुने गरेकोमा अहिले दैनिक २४ हजारसम्मको खपत हुने गरेको छ ।

कुखुराको मासुको मूल्य पनि हालसम्मकै उच्च भएको छ । हाल देशभर दैनिक ८ लाख केजी कुखुराको मासु बिक्री भइरहेको छ । गाउामा उत्पादित कुखुरा स्थानीयस्तरमै खपत भएपछि दैनिक ५ देखि साढे ५ लाख केजी खपत हुने काठमाडौंमा प्रतिकेजी मूल्य ४ सय ५० पुगेको हो ।

माछा र मासु मात्र होइन, देशैभर मदिराको व्यापार २० देखि २५ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थको व्यापार ३० प्रतिशतले बढेको छ ।  सामान्य अवस्थामा दैनिक २५ लाख लिटर पेट्रोल खपत हुने गरेकोमा अहिले ३५ देखि ४० लाख लिटर पुगेको छ । 

निर्वाचनका क्रममा टेलिकमको भ्वाईस कल र डेटा प्रयोग एक महिनाको बीचमा दुई प्रतिशतले वृद्धि भएको छ । निर्वाचनका बेला कृषिजन्य उत्पादनको माग र प्रयोग बढेपछि गाउाका किसान खुसी भएका छन् । उत्पादित वस्तुले बजार पाउन नसकेको भन्दै हार गुहार गरिरहेका किसान आगामी दिनमा स्थानीय जनप्रतिनिधिले खपत बढाउने योजना ल्याउने अपेक्षामा छन् ।