मत बदर हुन नदिन के गर्न सकिन्छ ?

वैशाख २७, २०७९
मत बदर हुन नदिन के गर्न सकिन्छ ?

निर्वाचन आयोगले यस पटकको निर्वाचनमा विगतमा जस्तो मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छैन । मतदाता शिक्षा सञ्चालन हुँदा पनि २०७४ सालको निर्वाचनमा संघीय राजधानी काठमाडौं उपत्यकासहित प्रमुख शहरहरुमै धेरै मत बदर भएको थियो । शिक्षित मतदाता धेरै भएका शहरमा किन धेरै मत बदर भए त ? 

२९ वटा वडा रहेको ललितपुर महानगरमा अघिल्लो स्थानीय तह निर्वाचनमा १ लाख १२ हजार ९ सय २३ मतदाता मध्ये ८७ हजार ४८ अर्थात ७७ दशमलव १० प्रतिशत मत खसेको थियो । त्यसमा १६ हजार ८ सय अर्थात १९ दशमलव ३० प्रतिशत मत बदर भएको थियो ।  जेष्ठ नागरिक, गरिवी र उम्मेदवारप्रतिको असन्तुष्टीसँगै मतदाता शिक्षाको अभावले शहरमै धेरै मत बदर भएको हो । 

काठमाडौं महानगरपालिकामा पाँच वर्षअघिको चुनावमा करिव २० हजार मत बदर भएको थियो भने भक्तपुर नगरपालिकामा ३ दशमलव १२ प्रतिशत अर्थात १३ सय ७५ मत बदर भएको थियो । प्रदेश १ को प्रमुख शहर विराटनगर महानगरपालिकामा ८७ हजार तीन सय ८१ मत खसेकोमा १९ हजार ४ सय १९ अर्थात २४ दशमलव ७ प्रतिशत मत बदर भएको थियो । यस्तै गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा १ लाख २५ हजार ८ सय ५३ खसेको मत मध्ये १० दशमलव २ प्रतिशत मत बदर भएको थियो । 

मधेश प्रदेशको जनकपुर उपमहानगरपालिकामा १४ दशमलव ४४ प्रतिशत मत बदर भएको थियो । निर्वाचनमा मत बदर नहोस् भनेर निर्वाचन आयोगले त्यसबेला मतदाता शिक्षाका लागि २० हजार स्वयंसेवक परिचालन गरेको थियो । मतदाता शिक्षाका लागि करिब ४० करोड खर्चसमेत गरेको थियो । तर मत बदर हुने कम हुन सकेन । निर्वाचनमा मत बदर हुन नदिन निर्वाचन कार्यालयबाट खटिने कर्मचारी र स्वयंसेवक मात्र नभर्इ राजनीतिक दल र स्वयं मतदाता पनि सचेत हुनुपर्छ ।