पक्ष-विपक्षमा पोष्ट गरिरहनुभएको छ ? कारवाही हुन सक्छ !

वैशाख २७, २०७९
पक्ष-विपक्षमा पोष्ट गरिरहनुभएको छ ? कारवाही हुन सक्छ !

सामाजिक सञ्जालमार्फत् तपाईंले कस्ता सामग्री राख्ने गर्नुहुन्छ? अझ चुनावका बेला कसैको पक्ष र विपक्षमा समेत केहि पोष्ट गरिरहनुभएको होला ! तर आज रातिदेखि भने चुनावमा उठेको उम्मेद्वारको प्रचार हुने कुनै पनि सामग्री सामाजिक सञ्जालमा राख्न पाइने छैन ।  त्यति मात्र होइन राखिएका प्रचार सामग्रीसमेत हटाउनुपर्ने छ। निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत् प्रचार–प्रसार गरेमा आचारसंहित विपरित हुन्छ ।

राजनीतिक दल तथा उम्मेदवारले यस पटक चुनावी प्रचारका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग गरेका छन् । तर यसरी प्रचार गर्दा एक अर्कालाई गाली गलौज गर्न, हिंसात्मक अभिव्यक्ति दिन र कुनै ब्यक्तिमाथिका  लान्छनायुक्त सामग्री सामाजिक सञ्जालमा राख्नु भने दण्डनीय मानिन्छ । अझ मौन अवधिमा त कुनै पनि किसिमका प्रचार सामग्री राख्नुलाई समेत दण्डनीय मानिएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा आएका ५८ वटा सामग्रीविरुद्ध कारबाही गरेको छ । मौन अवधिमा सामाजिक सञ्जालको अनुगमन अझ तीव्र पार्ने आयोगको भनाइ छ ।

दूरसञ्चार प्रधिकरणका अनुसार नेपालमा १ करोड १५ लाख इन्टनेट प्रयोगकर्ता छन् । ती मध्ये १ करोड २३ लाख फेसबुक र ४ लाख १९ लाख ट्वीटर प्रयोगकर्ता छन् । निर्वाचन आयोगले अनुगमन इकाई बनाई इन्ष्टाग्राम, टिकटक र म्यासेन्जरलगायत सामाजिक सञ्जालको प्रयोगबाट गरिने प्रचार–प्रसारको पनि उजुरीका आधारमा अनुगमन गर्दै आएको छ । तर देशविदेश सबैतिरबाट यस्ता सामग्री राख्न सकिने भएकाले त्यस्तोमा कारबाही गर्न सहज छैन । यता प्रेस काउन्सिल नेपालले पनि पत्रकार तथा सञ्चारगृहहरुबाट सञ्चालित सामाजिक सञ्जालमध्ये ५ सयलाई सचेत गराइसकेको छ ।

निर्वाचन प्रचारका लागि सामाजिक सञ्जाल भरपर्दो माध्यम बनेको छ । तर अब मौन अवधिका बेला दल तथा उम्मेदवारका बारेमा प्रचार गरिए कारबाहीमा परिन्छ ।