स्थानीय तह निर्वाचनको सबै तयारी पुरा

वैशाख २७, २०७९
स्थानीय तह निर्वाचनको सबै तयारी पुरा

स्थानीय तह निर्वाचनको सबैजसो तयारी पुरा भएको छ । मतदान हुन तीन दिन मात्र बाँकी रहँदा आवश्यक निर्वाचन सामाग्री सहित मतदान अधिकृत र सुरक्षा टोली ७ सय ५३ पालिकाका सबै मतदान बुथमा पुगेका छन् । अब मतदान अघि के कति काम बाँकी छ त ?

मतदान स्थलमा खटाइएका अधिकांश कर्मचारी आवश्यक निर्वाचन सामाग्री सहित जिल्लाबाट तोकिएका ठाउँमा पुगेका छन् । मतदान अधिकृतको अबको काम निर्वाचन सुरक्षित र भयरहित बनाउन अत्यावश्यक सूचना जारी गर्ने हो । ३ सय मिटर वरिपरिको क्षेत्रलाई मतदानस्थल घोषणा गर्दै मदिरा निषेध गरिएको छ । हातहतियार प्रर्दशन निषेधित क्षेत्रको सूचना जारी हुन्छ ।

२८ गते  मतदान अधिकृतले निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारका प्रतिनिधिसँग सर्वदलीय बैठक राख्नेछन् । मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा निर्वाचनको अघिल्लो दिन साँझसम्म चल्नेछ । आयोगले प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा १० देखि १५ प्रतिशतसम्म मतपत्र र अरु जगेडा सामाग्री पठाएको छ । कुनै बुथमा कुनै समस्याले फेरि मतदान गर्नु परेमा ती सामाग्रीको प्रयोग हुनेछ । 

२९ गते मतदान स्थल तथा केन्द्रमा बुथ निर्माण गरिनेछ । महिला र पुरूषको लागि बेग्लाबग्लै लाइनको व्यवस्था गरिनेछ । जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती र सुत्केरी, लैगिंक तथा यौनिक अल्पसंख्यकले भने मतदान गर्न लाइन बस्नु पर्दैन । अधिकांश चुनावी तयारी सकिए पनि केही जिल्लामा भने कर्मचारी अभावले निर्वाचन व्यवस्थापनमा समस्या देखिएको छ । 

मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका व्यक्तिलाई मतदान गर्न दिने तयारी आयोगको छ । १७ जिल्लाका केही स्थानीय तहलाई सुरक्षाको दृष्टिले संवेनदनशील मानेर थप सतर्कता अपनाइएको पनि निर्वाचन आयोगले जनाएको छ ।