मौन अवधि: के-के गर्न पाईदैन ?

वैशाख २७, २०७९
मौन अवधि: के-के गर्न पाईदैन ?

आज राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने परिस्थिति बनाउन चुनावका दिनसम्म मौन अवधि लागु गरिन्छ । राजनीतिक दल तथा उम्मेदवारले मौन अवधिभर मतदातालार्इ प्रभाव पार्ने र आचारसंहिता विपरितका काम गरे एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्दसम्म हुनसक्छ । त्यसो भए मौन अवधिमा के के हुन्छ र क गर्न पाईदैन त ?

मौन अवधि भनेको राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार सकेर मतदानको समयसम्म कुनै खुला गतिविधि नगर्ने अवधि हो । मतदाताका लागि विवेकपूर्ण निर्णय लिने र उम्मेदवार पक्षधरले मतदातालाई अन्तिम समयमा प्रभावमा नपार्न तथा शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन ४८ घण्टा अगाडि मौन अवधि लागु गरिन्छ । यो अवधिभर दल, उम्मेदवार वा जो कोहीले प्रचार, भेला, गोष्ठी जस्ता कुनै पनि कार्य गर्न पाईदैन। मतदानस्थलको तीनसय मिटर वरपरका प्रचार सामग्री हटाउनुपर्छ ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट पनि पक्ष विपक्षमा मत जाहेर गर्न वा अरुका त्यस्ता सन्देश शेयर गर्न पाईदैन । चुनावी प्रचारका बेला भेटेका दल र उम्मेदवारले दिएका आश्वासन वा प्रलोभन मुक्त भएर मतदाताले विवेकपूर्ण निर्णय लिने समय पनि हो मौन अवधि । 

शान्ति सुरक्षाको दृष्टीले पनि अन्तिम समयसम्म दलहरुका गतिविधि उचित नहुने भएकाले मौन अवधिमा ती सबैलार्इ प्रतिवन्ध गरिएको छ । त्यसो त मौन अवधिमै सवैभन्दा बढि चलखेल हुने र रातरात भोजभतेरदेखि आर्थिक चलखेल चल्ने गरेको भन्दै आलोचना हुने गरेको छ । त्यसैले निर्वाचन आयोगले पनि अनुचित गतिविधि हुन नदिन थप चनाखो हुन जरुरी छ ।