चुनावका बेला कोरोना संक्रमण बढ्ने जोखिम

वैशाख १४, २०७९
चुनावका बेला कोरोना संक्रमण बढ्ने जोखिम

भारतमा कोभिड संक्रमण बढ्दै छ । दैनिक २५ सयको हाराहारीमा संक्रमित थपिइरहेका छन् । संक्रमणकै कारण भारतमा दैनिक तीस जनाको मृत्यु हुने गरेको छ । विगतमा भारतमा संक्रमण बढेसँगै नेपालमा पनि बढेको अनुभव छ । अझ नेपालमा स्थानीय तहको चुनावको चहलपहल सुरु भएसँगै झनै जोखिम बढाएको छ । एकातिर मानिसको भेटघाट बाक्लो हुँदैछ भने अर्कोतिर स्वास्थ्य मापदण्डको पालना गरेको पाइँदैन । उम्मेद्वारी दर्तादेखि घर दैलो कार्यक्रममा देखिएको लापरबाहीले यसको जोखिम झनै बढाएको छ । स्वास्थ्य मापदण्डको पालनामा हेलचेक्राइ बढ्दै गएकाले जोखिम थपिएको सरकारको बुझाइ छ । 

नेपालमा अहिले दैनिक २० जनाको हाराहारीमा संक्रमण देखिने गरेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण फैलन सामान्य लापरबाही नै पर्याप्त हुनसक्ने चिकित्सक बताउँछन् ।

कोभिडको जोखिम कायमै रहेकाले सामाजिक दुरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले अपील गरेका छन् । 

चुनाव लाग्यो भन्दैमा भिडभाड गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हो नेपालमा चौथो लहर नआउला भन्न सकिन्न । त्यही भएर सहज रुपमा मतदान गर्ने वातावरण बनाउन सबै राजनीतिक दल, उम्मेदवारलगायत आमनागरिकले आआफ्नो तहबाट सतर्कता अपनाउन जरुरी छ ।