कोरोनाविरुद्धको खोपमा सरकारी लक्ष्य असफल

चैत्र ३०, २०७८
कोरोनाविरुद्धको खोपमा सरकारी लक्ष्य असफल

चैत मसान्तभित्र लक्षित जनसंख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने सरकारी लक्ष्य असफल भएको छ । दुई करोड नागरिकलाई खोप दिने भनिएकोमा करिब एक करोड ६४ लाख व्यक्तिले मात्रै दुबै मात्रा खोप पाएका छन । अहिले पनि ७४ लाखभन्दा धेरै मात्रा खोप बचत छ ।

अहिलेसम्म नेपालमा कोभिड विरुद्धको ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप आएको छ । त्यसमध्ये ४ करोड ४ लाख ५९ हजार मात्रा खोप लगाइएको छ । लक्षित जनसंख्याको ९३ दशमलब १ प्रतिशतले खोपको पहिलो डोज अर्थात एक मात्रा लगाएका छन भने  ८३ प्रतिशतले पुर्ण मात्रा पाएका छन् ।

असारमा गठबन्धन सरकार बन्ने वित्तिकै प्रधानमन्त्रीदेखि स्वास्थ्यमन्त्रीसम्मले चैतसम्ममा लक्षित सवै व्यक्तिलाई खोप दिइसक्ने घोषणा गरेका थिए । सरकारले घर–घर गएरै खोप अभियान चलाउने भनेको थियो । तर अझै पनि ३५ लाखभन्दा धेरै नागरिक दुबै मात्रा खोप लगाउनबाट बञ्चित छन् ।  ७४ लाख २३ हजार ३ सय ११ मात्राभन्दा बढि खोप मौज्दात छ । १८ वर्ष माथिका २३ लाखभन्दा बढीले बुस्टर खोप पाएका छन । अहिले खोपको अभाव छैन, नत आपुर्तिमै समस्या छ । सबैले समयमै खोप नपाउनुको मुख्य कारण व्यवस्थापनको कमजोरी हो। 

अहिले पनि कोरोनाको जोखिम हटिसकेको छैन । भाइरसको नयाँ भेरियन्ट छिमेकी भारतमा पुष्टी भैसकेको छ । त्यसैले पनि अर्को लहरले फेरि निम्त्याउन सक्ने जोखिमप्रति सचेत रहँदै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन सरकारले प्राथमिकताका साथ काम गर्नु आवश्यक छ।