कोभिड १९ को नयाँ भेरियन्ट आउने क्रम अझै रोकिएन

चैत्र २६, २०७८
कोभिड १९ को नयाँ भेरियन्ट आउने क्रम अझै रोकिएन

नेपालमा कोभिड संक्रमितको संख्या मात्र होइन, संक्रमण दर पनि निकै कम भएको छ । कुनै बेला दैनिक १० हजारभन्दा बढी संक्रमित देखिने गरेकोमा अहिले घटेर दैनिक १० जनाको हाराहारीमा संक्रमित पहिचान हुने गरेका छन् । तर संक्रमणको जोखिम अझै सकिएको छैन । किनकी नयाँ भेरियन्ट आउने क्रम अझै रोकिएको छैन । अहिले पुन: केही देशमा नयाँ भेरियन्ट देखिएको छ ।

कोरोना संक्रमण दर न्यून हुँदै गएका बेला बेलायत, थाइल्यान्डलगायतका देशमा नयाँ भेरीयन्ट ओकिम्रोन एक्स.ई देखिरहेको छ । यो भेरियन्टलाई ओमिक्रोनभन्दा १० गुना बढी संक्रामक मानिएको छ । तर यो कति घातक छ भन्ने एकीन भइसकेको छैन । यसबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । बेलायतमा अहिलेसम्म ६ सय र भारतको महाराष्ट्र र गुजरातमा पनि एक-एक जनामा ओकिम्रोन एक्स.ई देखिएको छ । तर नेपालमा भने हालसम्म यो भेरियन्टका संक्रमित पहिचान भएका छैनन् ।

नेपालमा पनि नयाँ भेरियन्टको जोखिम कायमै रहेको विज्ञ बताउँछन् । अहिले कोभिड संक्रमण कम भएको अवस्थामा विदेशबाट आउनेको स्वास्थ्य परीक्षणमा खासै ध्यान दिइएको छैन भने नाकाहरुमा समेत स्वास्थ्य मापदण्डको ख्याल गरिँदैन । नयाँ भेरियन्ट फैलिरहेका देशबाट आउनेहरुले भाइरस ल्याउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने विज्ञ बताउँछन् ।

अहिले कोभिड संक्रमण सकियो भनेर जनस्वास्थ्यका मापदण्डको पालना गर्न निकै कम भएको देखिन्छ । तर नयाँ भेरियन्ट देखिने क्रम नरोकिएकाले भोलिका दिनमा थप समस्या नहोला भन्न सकिँदैन ।