नेपालमा ५० प्रतिशत महिला अनिच्छित गर्भाधारण गर्न बाध्य

चैत्र १९, २०७८
नेपालमा ५० प्रतिशत महिला अनिच्छित गर्भाधारण गर्न बाध्य

नेपालमा गर्भाधारण गर्ने महिला मध्ये ५० प्रतिशतले अनिच्छित गर्भाधारण गर्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। महिला सामाजिक र आर्थिक रुपमा सक्षम नहुनु र स्वनिर्णयको अधिकार नपाउँदा अनिच्छित गर्भाधारण बढेको हो ।

नेपालमा बार्षिक १२ लाख गर्भाधारण मध्ये झण्डै आधा अनिच्छित गर्भाधारण हुने गरेको अध्ययनले देखाएको छ। त्यसमा पनि अनिच्छित गर्भाधारणको करिब २ तिहाइ गर्भपतन हुने गरेको छ। प्रजनन उमेरका विवाहित महिलामध्ये लगभग ४३ प्रतिशत मात्र परिवार नियोजनका साधन प्रयोग गर्छन् भने परिवार नियोजनको आवश्यकता भएर पनि सेवा नपाउने महिलाको संख्या २४ प्रतिशत छ । बाँकी ३३ प्रतिशत महिलाले गर्भनिरोधक उपाय अपनाउन नै चाहादैनन्। जसले गर्दा अनिच्छित गर्भाधारण र असुरक्षित गर्भपतनको संख्या उच्च छ ।

नेपाल सरकारको तथ्याङ्कले जम्मा १ लाखको हाराहारीमा बार्षिक गर्भपतन हुने गरेको तथ्याङ्क देखाए पनि, असुरक्षित तवरले बार्षिक ३ लाख भन्दा बढीले गर्भपतन गर्ने गरेका छन् । गर्भानिरोधक साधनको ज्ञान र पहुँचको अभाव र प्रभावकारी ढङ्गले परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्न नसक्नुले पनि अनिच्छित गर्भाधारण धेरै हुने गरेको छ।

नेपालमा अझै पनि लगभग ४१ प्रतिशत किशोरीको विवाह १८ वर्ष अगावै हुने गरेको छ । किशोरावस्थामा गर्भाधारण गरेका किशोरीहरू मध्ये आधा गर्भाधारण अनिच्छित छ ।  परिवार नियोजनको साधन प्रयोगकर्ता महिलाहरुमध्ये पनि १२ महिनाभित्र आधाले परिवार नियोजनका साधन  प्रयोग गर्न  छोड्ने गरेका छन् ।