महामारी नियन्त्रणमा खर्च गर्नुपर्ने रकम दुरुपयोगको आशंका

माघ २६, २०७८
महामारी नियन्त्रणमा खर्च गर्नुपर्ने रकम दुरुपयोगको आशंका

कोरोना महामारी उत्कर्षमा पुगेका बेला नियन्त्रणका लागि भन्दै बाँकेमा ठूलो रकम खर्च गरियो । जिल्ला कोभिड नाइन्टिन संकट व्यवस्थापन समितिलाई संक्रमण नियन्त्रण गर्न स्थानीय तहहरुले आर्थिक सहयोग गरेका  थिए । तर, रकम दुरुपयोग भएको आशंका गर्दै संक्रमण नियन्त्रणमा खटिएकाहरुले प्रश्न उठाएका छन् ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरको बेला बाँकेका विभिन्न स्थानीय तहले संक्रमण रोकथाम र नियन्त्रण गर्न जिल्ला कोभिड नाइन्टिन संकट व्यवस्थापन समितिलाई १ करोड ५७ लाख आर्थिक सहयोग गरेका     थिए । नेपालगन्ज उपमहानगरपालिकाले मात्रै ४३ लाख सहयोग गरेको थियो । त्यसैगरी कोहलपुर नगरपालिकाले ३२, राप्ती सोनारी गाउँपालिकाले १५, नरैनापुरले १६, जानकीले ११, बैजनाथले ११ डडुवाले १३ र खजुरा गाउँपालिकाले १६ लाख रुपैयाँ दिएका थिए । तर समितिले धेरै जसो रकम होटलहरुलाई दिएको पाइएपछि सरोकारवालाहरुले दुरुपयोग भएको आशंका गरेका छन् । 

जिल्ला कोभिड नाइन्टिन संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले खाना, इन्धन, गाडी भाडा र होटलमा बसेको खर्चको भुक्तानी दिएको छ । संक्रमणमा खटिएका कर्मचारीलाई प्रोत्साहन खर्चसँगै स्वयम् सेवकलाई समेत रकम दिएको पाइएको छ ।

जिल्ला प्रशासन बाँकेमा भएका कोभिडसम्बन्धी बैठकमा समेत दाताहरुले रकम पारदर्शी ढंगले खर्च नभएको बताएका छन् । महामारी नियन्त्रण गर्न खर्च गर्नुपर्ने रकमको दुरुपयोग भएको आशंका भएपछि छानबिनको माग उठेको छ । 


Enter Kantipur TV HD
Advertisement