आर्थिक वर्षको ६ महिनामै २६ वाणिज्य बैंकलाई ३३ अर्ब मुनाफा

माघ १२, २०७८
आर्थिक वर्षको ६ महिनामै २६ वाणिज्य बैंकलाई ३३ अर्ब मुनाफा

कोरोनाका कारण मुलुकका अधिकांश आर्थिक गतिविधि प्रभावित भइरहे पनि २६ वटा वाणिज्य बैंकले भने ६ महिनाको अवधिमा ३३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । तर उनीहरुले आफ्ना सेयरधनीलाई बाँड्ने रकम अर्थात् वितरणयोग्य मुनाफा भने उत्साहजनक रुपमा बढाउन सकेका छैनन् । 

२७ वटा बाणिज्य बैंकमध्ये हालसम्म २६ वटाले पुषसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा २० बैंकको नाफा बढेको छ । सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । यो बैंकले पुषसम्ममा २ अर्ब ६६ करोड नाफा कमाएको भए पनि गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा भने सिभिल बैंक देखिन्छ । ६ वटा बैंकको भने गत वर्षको पुषको तुलनामा नाफामा गिरावट आएको छ । निक्षेपको ब्याजमा लागत वृद्धि, खराब कर्जाको बृद्धिका कारण नाफाबाट प्रोभजनिङ गरेर राख्नु पर्ने रकम बढेकाले अपेक्षाकृत नाफा भने बढाउन नसकिएको बैंकर बताउँछन् । 

गत वर्ष पुष मसान्तसम्म ३२ खर्ब २३ अर्ब लगानी गरेका बैंकहरुले यो वर्षको पुष मसान्तसम्ममा ९ खर्ब लगानी बढाएर ४१ खर्ब ४२ अर्ब पुर्याएका छन् । उनीहरुको लगानी गत वर्षको तुलनामा २८ दशमलव पाँच प्रतिशतले बढेको छ । तर,  सेयर लगानीकर्तालाई बाँड्ने लाभांसका लागि छुट्याउने रकम अर्थात् वितरणयोग्य मुनाफा भने ८ दशमलव आठ सात प्रतिशत मात्रै बढेको छ । यो उत्साहजनक बृद्धि होइन । त्यस्तै निक्षेपको ब्याजमा लागत शुन्य दशमलव नौ छ प्रतिशतले बढेको छ । खराब कर्जा शून्य दशमलव पाँच तीन प्रतिशतले बढेको छ भने सम्पत्तिमा प्रतिफल १ दशमलव दुई प्रतिशतले गिरावट आएको छ ।  

मुख्य सूचक नियाल्दा बैंकहरुको अवस्था सन्तोषजनक देखिन्छ । हुन त महामारीका कारण सबै क्षेत्रको अवस्था बिग्रिएका बेलामा बैंकहरुको यस्तो प्रगति आशालाग्दो नै देखिन्छ ।