राष्ट्रिय मान्यता पाएका ठूला दल विभाजन र गुटगत तिक्तताबाट गुज्रिरहँदा साना दलहरु पनि टुटफुट र विवादबाट मुक्त हुन सकेका छैनन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राप्रपा, विकेशील साझादेखि राष्ट्रिय जनमोर्चासम्म कुनै विभाजित भैसकेका छन् भने कुनैको विवाद उत्कर्ष छ ।
अहिलेको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि भदौ ९ मा जनता समाजवादीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा फेरि टुक्रिने स्थितिमा पुगेको छ ।
पार्टी विधानमा १५ दिनमा केन्द्रीय कार्यकारीणी समिति बैठक बस्ने भनिएपनि विवाद उत्कर्षमा पुग्दा पार्टी गठन भएयता एउटा पनि बैठक बस्न सकेको छैन । पार्टी अध्यक्ष महन्थ ठाकुरले आफु निकटका व्यक्तिलाई मात्र जिम्मेवारी दिएपछि नेता राजेन्द्र महतो कार्यालयसमेत जान छाडेका छन् । लोपसमा समाहित अन्य घटकरू पनि ठाकुरसँग टाढिँदा साढे चार महिना नबित्दै पार्टी फुटको संघारमा पुगेको हो ।
संसदको पाँचौ ठूलो दल सत्तारुढ जनता समाजवादी पार्टी जसपाभित्र पनि अहिले विवाद चर्किएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच तिक्तता बढेको छ । यादवले एकलौटी गरेको भन्दै भट्टराई पक्ष आफू बलियो बन्ने रणनीति लिएपछि गुटबन्दी चुलिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र विवेकशील साझा पार्टी र राष्ट्रिय जनमोर्चाको हालत पनि उस्तै छ । विवेकशील साझा फुटिसकेको छ भने राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र नेता कमल थापाको समूहबीच मतभेद चुलिएको छ ।
प्रतिनिधिसभा एक मात्र सिट जितेको राष्ट्रिय जनमोर्चाको एउटा खेमा त फुटेर माओवादी समाहित भैसकेको छ ।