एमालेका नेताले खुलेर पद दाबी नै गरेनन् 

मंसिर ९, २०७८

नेतृत्व छान्नकै लागि भोलीदेखि महाधिवेशन शुरू हुने भए पनि एमालेमा पदाधिकारीहरु को बन्लान भन्ने अहिलेसम्म अलमल र अन्योल कायमै छ । एक त सर्वसम्मतिका नाममा प्रतिस्पर्धालाई गौण बनाइएको छ। अर्को, अध्यक्ष ओलीकै डरले धेरैले मुख समेत खोलेका छैनन् । त्यसमाथि ओलीको आफ्नै समूह, दश बुँदे पक्षधर र पूर्वमाओवादी समुहका नेताको व्यवस्थापन चूनौतीपूर्ण हुने देखिएको छ । त्यसैले पनि एमालेभित्र पदाधिकारीको संख्या थप्न दबाब बढेको छ । 

एमालेमा मुख्य चूनौती अध्यक्ष ओली समूहभित्रकै नेता व्यवस्थापनमा देखिएको छ । अध्यक्षमा ओली आफैं दोहोरिँदा एकमात्र वरिष्ठ उपाध्यक्षमा उनीनिकट ईश्वर पोखरेल र सुवास नेम्वाङ दाबेदार छन् । जबकी माओवादीबाट प्रवेश गरेको रामबहादुर थापा यही पदका आकांक्षी छन् । प्रतिष्प्रर्धा नभए तीन आंकाक्षी मध्ये कसलाई वरिष्ठ उपाध्यक्ष दिने भन्ने चूनौती संस्थापन समूहलाई छ । चुनाव भए थापालाई जित्न कठिन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका आकांक्षीले तल्लो पद ताके भने उपाध्यक्षका हालका दाबेदार पछिहट्नुपर्ने बाध्यता आउन सक्छ । त्यो अवस्थामा दश बुँदे सहमति गरेर आएको समूहबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको सम्भावना भएपनि अरूलाई कठिन हुने देखिन्छ । 

महासचिवमा ओलीका विश्वासपात्र शंकर पोखरेल र विष्णु पौडलले दाबी छ  । नेता सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसालको उत्तिकै चासो छ । तर विगतमा ओलीका आलोचक बनेका पाण्डे र भुसालले कहाँ ठाउँ पाउँछन, अन्योल छ । चुनाव भए गुटगत आधारमा उनीहरु पराजित हुने देखिन्छ । त्यसैले अधिकांश नेताले सहमति भन्ने तर आफूले मागेको पद पाउनुपर्ने दोहोरो कुरा गरिरहेका छन् ।

 महाधिवेशन नै सर्वसम्मत गर्ने भनिएकाले उपमहासचिव पूर्व नेपाल गुट वा माओवादी पृष्ठभूमिका नेताले पाउन सक्ने सम्भावना पनि उत्तिकै छ । अझ ७ सचिवमा संस्थापन निकट नेताहरूकै ओइरो छ । यदि सचिव पदमा प्रतिष्प्रर्धा भइहाले ओली निकटले जित्ने र अरु पाखा लाग्नेस्थिति छ ।  सर्वसम्मत वा चुनाव जे भएपनि संस्थापन नै हाबी हुने निश्चित जस्तै छ । त्यसैले नेताहरूलाई भाग पुर्याउनकै लागि पदाधिकारीको संख्या बढाउने लविङ भैरहेको छ । 

एमालेको दशौ महाधिवेशन कतिपय नेताहरूको प्रतिष्ठासँग पनि जोडिएको छ । विधानमा ७० बर्षे उमेर हद राखिएका यसपटक पदाधिकारी वा केन्द्रीय सदस्य निर्वाचित नभए अर्को पटक ढोका नै बन्द हुने स्थितिमा कतिपय नेताहरू छन् ।