छिमेकी देशसँगका विवादका बारेमा परराष्ट्रमन्त्रीले 'अध्ययन गर्न बाँकी'

आश्विन २८, २०७८

महाकालीको तुईन प्रकरणदेखि नेपाली भूमि मिचिएको बिषयमा भारतसँग कुटनीतिक संवाद गर्न सरकार उदासिन देखिएको छ । २२ दिन अघि परराष्ट्रमन्त्री बनेका नारायण खड्काले त भारतीय सिमा सुरक्षा फौजले तुईन चुडाईँदिँदा नेपाली युवा महाकालीमा बेपत्ता भएको घटनाबारे आफूले अध्ययन गर्नै बाँकी रहेको बताए । 

नेपाल-भारत सम्बन्धमै असर पुग्ने खालका घटना, विवाद र बहस भैरहेका बेला परराष्ट्र मन्त्रालय करिब तीन महिना मन्त्रीबिहिन थियो । परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त भएको पनि २२ दिन भैसकेको छ । तर दुई पटक महत्वपूर्ण एजेण्डामा विदेश भ्रमण गरिसकेका मन्त्री खड्काले नेपाल-भारत सम्बन्ध चिसिने गरि भएका तुइन, नक्सालगायत प्रकरणबारे भारतीय उच्चतहसँग वार्ता कहिले हुन्छ भन्नेमा अनविज्ञता प्रकट गरेका छन् । असोज ६ गते मन्त्री बनेका उनले बुधबार कान्तिपुर समाचारको प्रश्नमा प्रतिवेदन अध्ययन गर्नै बाँकी रहेको भनेर टार्न खोजे।

संयुक्त राष्ट्रसघीय महासभामा भाग लिन अमेरिकादेखि असंलग्न अभियानको वर्षगाँठ मनाउन सर्बियासम्म भ्रमण गर्न भ्याएका परराष्ट्रमन्त्रीको जवाफले तुईन प्रकरण सरकारको प्राथमिकतामै छैन् भन्ने देखाउँछ । जबकि दार्चुलाका जयसिह धामी महाकालीमा बेपत्ता भएको निष्कर्षसहति भारतलाई कुटनीतिक नोट पठाएको थियो । यति मात्रै होइन, भारतले मिचेको नेपाली भूमी र नयाँ नक्सापछि भारतीय पक्षसँग गर्ने भनिएको वार्ताको पहलबारेको प्रश्नमा पनि परराष्ट्रमन्त्री खडका इमान्दार देखिएनन् ।  

नक्सा विवादमा करिव डेढ वर्ष अघि नै भारत भ्रमणपछि तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  उच्चस्तरिय तहबाट वार्ता गर्नुपर्ने निष्कर्ष निकालिएको दाबी गरेका  थिए । राष्ट्रिय हितसँग जोडिएका यति महत्वपूर्ण बिषयमा परराष्ट्रमन्त्री खड्का पन्छिन खोज्नुलाई कदापी जायज मान्न सकिन्न।