फेवातालको माछामा जलारी र व्यवसायी बीच विवाद

आश्विन ५, २०७८

पोखराको फेवाताल किनारमा माछा मारेर जीविकोपार्जन गरिरहेका जलारी धेरै छन् । फेवामा माछा पाइने ठाउँका रुपमा परिचित खपौँदी, पामे क्षेत्रमा पछिल्लो समय व्यवसायीले बाहिरबाट माछा लगेर बेच्च थालेका छन् ।  जलारी समुदाय पछिल्लो समय पुर्ख्यौली पेसा जोगाउने सकसमा छ ।

बिहीबार बिहानै पोखरा १८ खपौँदीमा माछा व्यवसायी र स्थानीयबीच हात हलाहाल कै स्थिति भयो । केही व्यवसायीले प्रहरी प्रशासन कै स्कटिङमा चितवनबाट माछा ल्याएर झार्न थालेपछि जलारी समुदाय र प्रहरीबीच केहीबेर तनाव सिर्जना भयो । 

व्यवसायीले प्रहरीकै सहयोगमा ग्रास, नैनी, राहु र सिल्भर प्रजातिका दुई सय ५० केजी माछा झारे । विगतमा लुकीछिपी माछा ल्याएर फेवाकै भनी बेच्ने गरेका व्यवसायीले बिहीबार भने प्रहरीकै सहयोगमा खुलेआम माछा झारेका हुन् । व्यवसायीले बाहिरका माछालाई फेवाको भनेर ठगी गरिरहँदा जलारी समुदाय विरोधमा छ । यो समुदायले पोखराको खहरेदेखि खपौँदीसम्म लोकल फिस जोन घोषणा गर्नुपर्ने, पुर्ख्यौली पेशा संरक्षण गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । 

व्यवसायी भने मत्स्य सहकारीले माग अनुसार स्थानीय माछा उपलब्ध गराउन नसकेकाले आयात गर्नु परेको जनाएका छन् । उनीहरुले सुरुमा फेवाकै माछा भनेर बेच्ने गरेको स्वीकार गर्दै अब बाहिरबाट ल्याएको भनेरै बिक्री गर्ने प्रतिबद्धता गरे । 

खपौँदी, पामे क्षेत्रमा फेवाकै ताजा माछा खानका लागि दैनिक ठुलो संख्यामा आन्तरिक एव‌ं बाहृय पर्यटक आउने गरेका छन् । खासगरी माछा मार्ने र बेच्ने काम जलारी समुदायले गर्दछन् । उनीहरुले नै यी खपौँदी र पामेलाई स्थानीय र स्वच्छ माछा पाइने स्थानका रुपमा परिचित गराएका हुन् । व्यवसायीले बाहिरबाट माछा ल्याएर स्थानीय भन्दै बेच्दा एकातिर उपभोक्ता ठगिएका छन् भने अर्कातिर जलारी समुदायको पुर्ख्यौली पेसा नै संकटमा परेको छ ।